Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

७ बुँदे माग राख्दै यातायात व्यवसायीले सरकारलाई सवारीसाधनको चाबी बुझाए

७ बुँदे माग राख्दै यातायात व्यवसायीले सरकारलाई सवारीसाधनको चाबी बुझाए

१० साउन, काठमाडौं– विभिन्न ७ बुँदे माग राख्दै यातायात व्यवसायीले सरकारलाई चाबी बुझाएका छन् । आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत सार्वजनिक यातायात केन्द्रीय महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएको हो।

महासंघले गत असार २४ गतेदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको छ । महासंघले राखेका माग पुरा नगरे यातायात सञ्चालन गर्न नसकिने व्यवसायीहरुको भनाइ छ ।

महासंघले बुझएको ज्ञापनपत्रमा खोपको व्यवस्था, सवारी दुर्घटना भएमा राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको व्यवस्था, भाडा समायोजन, र २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने माग गरिएको छ ।

त्यस्तै कोरोनाको कारण बन्दाबन्दीको अवधिलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणसहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाखसम्मको विमा हुनुपर्ने पनि व्यवसायीले माग गरेका छन् ।

ज्ञापन पत्रमा दुई वर्षसम्मको सवारी नविकरण कर छुट दिनुपर्ने, सडकसम्बन्धी छुट्टै कानुन ल्याउनुपर्ने लगायतका माग रहेका छन् ।

महासंघका महासचिव भरत नेपालले आफूहरुले ७ बुँदे माग राखेर असार २४ गतेदेखि आन्दोलन शुरु गरेको र चाबी बुझाउने कार्यक्रम पहिलो चरणको अन्तिम कार्यक्रम भएको बताए । माग पुरा नभए भोलीको समिक्षा बैठकले दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्नुपर्ने अवस्था आउने उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE