Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

आज माओवादी आन्दोलनलाई ‘पीर’ आए जस्तै भोली जनआन्दोलन, नयाँ व्यवस्था ल्याउनेहरु प्रति नआउला भन्न सकिन्न !

पञ्चा सिंह तपाईले कहाँ कसरी अभिव्यक्ति दिनुभो त्यो मेरो सरोकारको विषय होइन, तर कुन उद्देश्यले अभिव्यक्ति दिनुभयो त्यसले तपाईको रानीतिक यात्रलाई अझ फराकिलो या त साँघुरो बनाउने छ

प्रकाश सपुतको गीत ‘पीर’ सार्वजनिक भए यता यो गीत चर्चाको विषय बनेको छ । माओबादी विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले उक्त गीत यूट्यूबबाट हटाउन चेतावनी दिए पछि उक्त गीतको भिडियोबारे चर्चा झनै चुलियो । मैले यो गीत पुरै हेरेको थिइन् । हिजो बेलुका साथिहरुसँगको जम्का भेटमा पनि यो विषयले स्थान लियो नै । यद्यपी म यो गीतमा प्रयोग भएका श्रव्य–दृष्यबाट बेखबर नै थिए । साथिहरुका कुराले मलाई निकै दोधारमा पार्यो । न प्रकाशले ल्याएको यो गीत कुनै पार्टी या व्यक्तिको विरुद्धमा नै पो रहेछ कि भन्ने लाग्यो । म अन्जान नै भएकोले मैले खास कुनै धारणा त्यहाँ राखिन ।

बेलुका खान खाइसकेर म किताब पढ्दै थिएँ, मेरो एकजना साथिको फोन आयो, जो दिउँसोको भलाकुसारीमा पनि सँगै थियौँ । मैले गीत हेर्ने अनि प्रतिक्रिया दिने भनेर छुटिएका थियौँ । उसले फेरी सोध्यो भण्डारी सर के छ तपाईको राय गीतको विषयमा । मलाई लाग्यो मैले यो गीत हेर्नै पर्छ । मैले यूट्यूबमा ‘पीर’ हेरेँ, २ पटक कुनै पनि भाग स्कीप नगरी हेरेँ । मलाई यो गीतको विषयमा केही प्रतिक्रिया त दिनु नै थियो, यद्यपी मैले सोचेँ म यो विषयमा छोटै भएपनि लेख्छु । अनि यो अनुछेद् यहाँ सम्म आएको छ ।

गीत ‘पीर’ आफैमा पिडादायी छ । चाहे त्यो नेपालमा नै रहेकाहरुको होस या त यो देश भन्दा टाढा रहेकाहरुको पीडा वास्तविक नै छ । गीतका शब्दहरु माया प्रेमका विषयमा लेखिएका शब्द छन् । मलाई लाग्छ गीतका शब्द विवादित भएको होइन । कुरा यस गीतमा प्रयोग भएको भिडियो र कथाबस्तुको गरौँ ।

भिडियोको कथाबस्तु नितान्त तत्कालिन माओबादी आन्दोलनलाई योगदान गरेका योद्धाहरुको अहिलेको अवस्थालाई चित्रण गरिएको छ । गीतको भिडियोमा देखाए जस्तै सबै योद्धा तथा सशस्त्र आन्दोलनका सारथिहरुको जिवन शैली पकै नहोला । तर यो कुरा नकार्न सकिदैन कि तत्कालिन माओवादी आन्दोलनका केही योद्धा तथा देशमा परिवर्तको सपनामा माओवादी आन्दोलनमा हुमिएकाहरुको अवस्था साँच्चै दुखद् नै छ । यद्यपी त्यस्ता व्यक्तिहरुको भने यो गीतको कथा बस्तुले यथार्त चित्रण भने गरेको छ ।

यता यो गीतको भिडियोको कथाबस्तुलाई जुन दृष्टिकोणले हेरियो त्यो दृष्टिकोण नै गलत छ भन्छु म । मेरो मुख्य प्रतिक्रिया भनौ या त धारण भनौ जे भने पनि यो गीतको कथा बस्तुले हिजो समाज र देश परिवर्तनमा, यो देशको व्यवस्था परिवर्तनमा योगदान गरेका व्यक्तिहरुको अवस्थामा भने परिवर्तन भएन भन्ने कुरा देखाएको छ । जुन अकाट्य र वास्तविकता हो । कि यो कुरालाई खण्डन गर्ने तथ्य यो गीतको कथा बस्तुको विरोध गर्नेहरुले दिन सक्नु पर्यो । होइन भने सत्यलाई स्वीकार्ने क्षमता हुन पनि एउटा कुशल नेतृत्वको छवि हो । तसर्थ, यो भिडियोको कथाबस्तुलाई माओवादी आन्दोलनका योद्धाहरुले अहिले पाएको कष्ठलाई सकारात्मक दृटिकोणले हेर्ने पो हो की ।

यो गीतको भिडियोले माओवादी आन्दोलनका योद्धाहरुको मात्र होइन माओवादी आन्दोलन पश्चात भएको देशको व्यवस्था परिवर्त पछिका परिवर्तहरुको अपेक्षा गरेकाहरुको निरासावादलाई आत्मसाथ गरि ती समनाहरु पुरागर्न अब कसरी लाग्न सकिएला भन्ने तर्फ आफुलाई केन्द्रीत गर्न सक्ने मौका अझै बाँकी छ । माओवादी नेतृत्व मात्र होइन देश संचालन गर्न जनताले जसलाई अख्तियारी दियौ उनिहरु सबै सजक हुनु पर्ने र यसलाई तिरस्कार भन्दा पनि अवसर र बाटो देखाउने माध्ययमकारुपमा लिने हो भने तल्लो तहका नेतृत्वहरुले माथिल्लो तहका नेतृत्वलाई सर्तक रहन सुझाव दिनुपर्ने बेला भएको छ । आज प्रकाश सपुतले माओवादी आन्दोलनलाई र त्यसका योद्धालाई चित्रण गरे भोली जनआन्दोलन, नयाँ व्यवस्था ल्याउनेहरु प्रति अरु प्रकाश नजन्मिएलान भन्न सकिदैन ।

यो भिडियोमा देखाइएको कथा बस्तुलाई साँच्चिकै राजनैतिक मुद्दा नै बनाउने हो भने सकारात्मक तबरले बनाउ । नेतृत्व परिवर्तन, नेतृत्वको सोच परिवर्तन, शैली, पद्धती, विधि, अवधारण परिवर्तन गर्न एक श्रष्टको खबरदारी सम्झेर लागौँ । पञ्चा सिंह तपाईले कहाँ कसरी अभिव्यक्ति दिनुभो त्यो मेरो सरोकारको विषय होइन, तर कुन उद्देश्यले अभिव्यक्ति दिनुभयो त्यसले तपाईको रानीतिक यात्रलाई अझ फराकिलो या त साँघुरो बनाउने छ । तसर्थ यसलाई राजनैतिक दृष्टिकोणले विश्लेषण गरियोस तर, लाल्छना होइन खबरदारी हो, मेरो बुझाईमा । धन्यवाद
भुपेन्द्रबहादुर भण्डारी

WRITE COMMENTS FOR THIS ARTICLE