Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026

नयाँ मानव सभ्यता आवश्यकता विषयक एक दिने गोष्ठी सम्पन्न

काठमाडौँ । फेमिली पीस एसोसिएसन नेपाल एफपीए नेपालको आयोजनामा नयाँ मानव सभ्यता आजको आवश्यकता विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले विश्वभरका मानवलाई एकीकृत गर्न सक्ने नयाँ सभ्यतालाई दृष्टीगत गरेको छ । कार्यक्रममा चार विशिष्ट व्यक्तित्वहरुको प्रस्तुती रहेको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै फेमिली पीस एसोसिएसन नेपालका अध्यक्ष सहप्राध्यापक डा. किशोरकुमार राजभण्डारीले कुनैपनि धर्मले मानवतालाई शोषण र दमन गर्दैन, धर्मले समानताको वकालत गर्नुका साथै पारिवारिक मेलमिलाप गर्ने सन्देश दिएको बताउनुभयो । उहाँले विश्वमा धर्मयुद्ध पुँजीको युद्ध शक्ति राष्ट्रहरुको हतियार र साइबर युद्धले विश्वका गरीब मानव जनताहरु कष्टदायी अवस्थामा रहेको बताउदै विश्वलाई नै पारिवारिक सोचका साथ विभिन्न किसिमका युद्ध अन्त्यको सन्देश दिनुभयो ।पुँजीवादको नवउदारवाद एवम् छाडावादले दर्शाएको बताउदै उहाँले भूराजनीतिक अन्त्यको आवश्यकता रहेको बताउनुभयो । सबै भाषा, धर्म, संस्कृतिलाई एकिकृत गर्ने नयाँ युगको आगमन नै नयाँ मानव सभ्यताको उदयमान भएको भन्दै डा.राजभण्डारीले त्यही मानव सभ्यतामा नै सम्पूर्ण मानव जातीले आफ्नो अस्तित्व स्थापित गर्ने उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रा.डा. होमबहादुर बस्नेतले अहिले समाज परिवर्तनको लागि एक व्यक्तिको सकारात्मक सपना पनि महत्वपूर्ण हुने बताउनुभयो । उहाँले मानव पुस्ताको विकाससंगै भएका विभिन्न किसिमका परिवर्तनले सकारात्मकसंगै नकारात्मक परिवर्तन समेत ल्याउदा समाज नकारात्मक कुरालाई अनुशरण गर्न तर्फ लागेको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले विश्वबाट नै सभ्यता र एकता हराउदै गएको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै डा.रामचन्द्र पोख्रेलले विश्वशान्तीको अभियान पुरा गर्नका लागि व्यक्ति र परिवारमा समेत शान्ति स्थापना हुन जरुरी रहेको दाबी गर्नुभयो । साथै उहाँले पछिल्ला समय विभिन्न मुलुकमा नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरुको समेत दर्दानक हत्या भइरहेकोप्रति दुख व्यक्त गर्दै उहाँले अशान्त वातावरणप्रति दुख व्यक्त गर्नुभयो । डा.पोख्रेलले समाज परिवर्तका लागि ईश्वरीय वरदान आवश्यक पर्ने बताउनुभयो ।

अर्का वक्ता ध्रुवप्रसाद लामिछानेले भने पारिवारिक मूल्यमान्यताका कारण मात्र विश्वमा सदाचार कायम रहने बताउनुभयो । उहाँले देश देशमा आएको विखण्डनको पहिलो कारण घरपरिवारमा दिइने शिक्षा भएको बताउनुभयो । ग्लोबलाइजेशनको अवस्थामा या सूचना प्रविधिको विकासमा सामाजिक सञ्जालको दुरुपयोगले गर्दा परिवारपरिवारमा आएको विखण्डन कुनै पनि वैज्ञानिक एवम् प्रविधिको विकासले समाधान गर्न नसक्ने बताउनु भयो । उहाँले वैज्ञानिक तथा धार्मिक दुबै दृष्टिकोणबाट  हेर्दा  मानव जातिको इतिहास नै ईश्वरीय विधिविधानको इतिहास रहेको उहाँको भनाइ छ ।

त्यस्तै प्रा.डा. बालमुकुन्द रेग्मीले विश्वमा भइरहेका युद्धहरुको विराम गरेर नयाँ मानव सभ्यताको विकास गर्नुपर्ने आजको टड्कारो आवश्कता रहेको बताउनुभयो । उहाँले प्रथम विश्व युद्ध होस् वा दोस्रो विश्व युद्ध होस्, अहिलेका शक्ति सम्पन्न राष्ट्रहरुलाई केलाएर हेर्ने हो भने यीनीहरु उपनिवेशमा रहेको कुरा केलाउदै शक्ति प्रदर्शन भन्दा पनि शान्ती प्रदर्शनको बेला आएको बताउनुभयो । उहाँले कोरियाली लेखक डा। ह्युनजीन प्रिस्टन मुनले लेखेको कोरियन ड्रिममा लेखिएको कुरालाई साभार गर्दै दुई कोरियाको युनिफिकेशनले विश्वमा नयाँ मानव सभ्यताको विजारोपन गर्ने बताउनुभयो । साथै, उहाँले रुस–युक्रेन युद्ध, प्यालेसटाइन–इजराइल युद्धविराम गरेर विश्वमा शान्ति स्थापनाको शुभारम्भ गर्नुपर्ने उहाँले बताउनुभयो ।

फेमेली पीस एसोसिएसनका शिक्षा संयोजक सविनकुमार  खनालले कार्यक्रम नयाँ मानव सभ्यता वर्तमान विश्वका लागि नै आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले कार्यक्रमको समापन टिप्पणी राख्र्दै प्रविधिको विकाससंगै मानवीय अस्तित्व नै संकटमा पर्न लागेको भन्दै मानवले मानिसको अस्तित्व  जोगाउन र सृजनशील समाज निर्माणका लागि ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE