Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सीमामा सुरक्षा कडाइ: तालिमप्राप्त कुकुरको सहयोगमा अवैध ओसारपसार रोक्न सशस्त्र प्रहरीको प्रभावकारी अभियान

✍️दिनेश सहनी

जनकपुरधाम, माघ २५ गते : सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण पर्साले लागु औषध, विष्फोटक पदार्थ, हतियार तथा अन्य गैरकानुनी वस्तुहरूको अवैध ओसारपसार रोक्न सुरक्षा व्यवस्था कडा पारेको छ। छिमेकी मुलुक भारतबाट यस्ता अवैध वस्तुहरू भित्रिने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन तालिम प्राप्त कुकुरहरूको सहयोगमा अभियान सञ्चालन गरिएको छ।
i
सुरक्षा कडाइ अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा एफओबी आईसीपी र वीरगञ्ज भन्सारको संयुक्त टोलीले सवारी साधन र सामानहरूको कडाइका साथ निरीक्षण गरिरहेको छ। सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) लोकेन्द्र सुब्बाको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा मालबाहक लगायतका सबारी साधनहरूमा बनाइएका फल्स बटम (छलाङग भएका ठाउँ) तथा अन्य लुकेका स्थानहरूमा अवैध वस्तु लुकाइएको आशंकामा जाँच गरिएको छ।

सशस्त्र प्रहरी नायब उपरिक्षक सुब्बाका अनुसार यस अभियानले सीमा सुरक्षामा उल्लेखनीय योगदान दिने र नागरिक सुरक्षामा कुनै पनि सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। विशेष गरी वीरगञ्ज आईसीपी क्षेत्रभित्र र बाहिर आवतजावत गर्ने सवारी साधनलाई कडाइका साथ जाँच गरिँदैछ।

सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मधेश प्रदेशका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कालीदास धौबजीका अनुसार यो अभियानले सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधिमा कमी ल्याउँदै देशको सुरक्षा तथा शान्ति व्यवस्था मजबुत बनाउने अपेक्षा गरिएको छ। सुरक्षा सतर्कता उच्च बनाएर मुलुकको सीमामा हुने अवैध गतिविधिलाई निरुत्साहित गर्ने सशस्त्र प्रहरी बलको प्रयास जारी रहने बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE