नेपालीले विदेश घुमेरै सके ३५ अर्ब
काठमाडौं – विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्। नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट भएको आम्दानी भन्दा झण्डै १० अर्ब रुपैयाँले बढी छ।
नेपालीले विदेश भ्रमणमा जाँदा खर्च गरेको जहाजको टिकट रकम समेत यसमा जोडिएको छ। ‘नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने २९ मध्ये २६ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। यसबाट ठूलो रकम बाहिरिएको छ’, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने।
विदेशी विनिमय सञ्चिति घटेपछि विदेश जानेलाई प्रवेशाज्ञा र टिकटका आधारमा नगदमा दिइने विदेशी मुद्रा सुविधा २५ सय डलरबाट कटौती गरेर १५ सय अमेरिकी डलर बनाइएको छ। तर भुक्तानी फछ्र्यौट गर्नुपर्ने भएकाले सञ्चित विदेशी मुद्रा खर्च गर्नुपर्ने बाध्यता छँदैछ।
नेपालबाट रोजगारीका लागि विदेशिने कामदारको संख्या घटे पनि अध्ययनका लागि बाहिरिने विद्यार्थी तथा पर्यटकका रूपमा घुम्न जाने नेपाली, कर्पोरेट हाउस तथा अन्तर्राष्ट्रिय ब्राण्डका बिक्रेताको प्रोत्साहन यात्रा ९इन्सेन्टिभ टुर० मा जाने नेपालीको संख्या बढिरहेको डेपुटी गभर्नर शिवाकोटी बताउँछन्। गत आर्थिक वर्ष २०७४÷७५ को पहिलो चार महिनामा यस्तो खर्च २५ अर्ब १४ करोड थियो।
अर्थशास्त्री केशव आचार्यले विदेश यात्रामा नेपालीले गर्ने खर्चमा भएको वृद्धिका सम्बन्धमा संवेदनशील ढंगले सोच्न आवश्यक भइसकेको बताए। ‘यसमा नियन्त्रण गर्ने भन्दा पनि खर्च कम गर्ने उपायको अवलम्बन गर्नुपर्छ’, उनले भने।
नेपालीका लागि विदेश यात्राको ट्राभल प्याकेज बेच्ने एजेन्सीका अनुसार, पर्यटकका रूपमा नेपाली थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया जस्ता देशका सस्ता प्याकेजमा बढी आकर्षित हुने गरेको छन्।
अहिले विदेशी मुद्रा सञ्चितिको अवस्था कमजोर छ। विदेशी विनिमय सञ्चिति कमजोर बन्दै गएपछि राष्ट्र बैंकले भारतमा कार्डबाट हुने भुक्तानीमा पनि सीमा तोक्ने तयारी गरिरहेको छ। कुल सञ्चित ९ अर्ब ४३ करोड अमेरिकी डलर आठ महिनाको वस्तु र सेवाको आयात धान्न मात्र पर्याप्त हुन्छ। अमेरिकी डलरको सटही दर क्रमशः पुरानै लयमा फर्केपछि रेमिट्यान्सको वृद्धिदर पनि क्रमशः घट्दै गएको केन्द्रीय बैंकले जनाएको छ। पर्यटनबाट हुने आम्दानीले भने विदेशी मुद्रा आर्जनमा ठूलो भरथेग गर्न नसकेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। अन्नपुर्ण पोष्टबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE