Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ ।

केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् । चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाको बेरोजगारी दर गत महिना केही वृद्धि भई ३ दशमलब ९ प्रतिशत पुगेको थियो, तर त्यसमा पनि सुधारका सङ्केत देखिएको छ । अमेरिकीहरुले कामको खोजीमा बढी ध्यान दिन थालेको श्रम विभागको भनाइ छ । अघिल्लो वर्षको तुलनामा प्रति घण्टाको औसत भुक्तानीमा ३ दशमलब २ प्रतिशतले सुधार आएको छ ।

श्रम विभागको नयाँ तथ्याँक सार्वजनिक भएलगत्तै शेयर बजारमा पनि सुधार आएको छ । अमेरिका र चीनबीच जारी व्यापार विवाद सुल्झाउने उपायको खोजी गर्न अर्को सातादेखि वार्ता शुरु गर्ने समाचारले पनि बजारमा सकारात्मक सन्देश दिएको छ ।

अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलले व्याजदर अरु वृद्धि गर्ने वा नगर्ने बारे बैंकले केही लचक नीति लिने बताएपछि पनि बजारमा सकारात्मक वातावरण बनेको छ । डाउजोन्स औद्योगिक परिसूचक ७४७ विन्दु अर्थात ३ दशमलब ३ प्रतिशतले बढेको छ । एजेन्सीको सहयोगमा 

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै रोजगारी वृद्धिलाई मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । रोजगारी वृद्धिले अमेरिकी उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा सुधार आएको सङ्केत गर्दछ । गत महिना स्वास्थ्यसेवा र शिक्षा क्षेत्रमा नयाँ ८२ हजार रोजगारी थपिएको छ । विगत नौ वर्षमै यो सबैभन्दा ठूलो बढोत्तरी हो । रेष्टुराँ व्यवसायमा ४० हजार ७०० नयाँ रोजगारी थपिएको छ । निर्माण व्यवसायले ३८ हजार तथा उद्योग व्यवसायमा ३२ हजार नयाँ रोजगारी सृजना भएको छ । व्यवसायीहरुले पनि बढी कामदारको माग गरिरहेका छन् ।

श्रम विभागका अनुसार सन् २०१८ मा २६ लाख नयाँ रोजगारी सृजना भएको छ, अर्थात् मासिक करिब २ लाख २० हजार रोजगारी थप भएको छ । गत वर्ष डिसेम्बरमा करिब ६३ लाख मानिसले रोजगारीका लागि निवेदन दिएको पाइएको थियो । अघिल्लो वर्षको यही महिना करिब ६५ लाख मानिसले रोजगार खोजी गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE