Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

युएईलाई नेपालले १ सय ४५ रनले हरायो, सन्दीप लामिछाने र सोमपाल कामीको उत्कृष्ट बलिङ

सवाल सम्वाददाता
काठमाडौं-युएईमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १ सय ४५ रनले जित हात पारेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतिमा निर्धारित ५० ओभर खेल्दै घरेलु टोली युएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको युएई नेपालको दरिलो बलिङसामु टिक्न सकेन। १९ दशमलब ३ ओभर खेल्दै युएई ९७ रनमै अलआउट भयो।

यो जितसँगै युएई र नेपाल एकदवसीय सिरिजमा बराबरीमा पुगेका छन् । नेपालका तर्फबाट बलर सोमपाल कामी एक्लैले ५ विकेट लिए । त्यसैगरी सन्दीप लामिछानेले ४ र करण केसीले १ विकेट लिए ।

सोमपालले पहिलो ओभरमै युएईका चिराङ सुरीलाई आउट गरेका थिए । त्यसैगरी घुलाम सब्बर, शैमान अनवार र असफाक अहमदलाई पनि उनले लगातार पेभिलियनको बाटो देखाइदिए । १९औं ओभरमा पुनः बलिङ गर्न आएका सोमपालले जहुर खानको विकेट लिँदै युएईलाई ९७ रनमा समेटे ।

सन्दीपले भने १४औं ओभरको दोस्रो बलमा रिज्वान, तेस्रो बलमा फहद नवाज र छैटौं बलमा अमिर हायतको विकेट लिए। यसैगरी उनले १८औं ओभरको पाचौं बलमा मोहम्मद उसमानको विकेट झारे । करणले १७औं ओभरको चौथो बलमा मोहम्मद नाभीदलाई पेभेलियनको बाटो देखाए।

टस जितर ब्याटिङ रोजेको नेपाललाई जित दिलाउन ब्याट्सम्यान रोहितकुमार पौडेलको योगदान महत्वपूर्ण रह्यो । उनले ५८ बलमा अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन जोडे ।

सन्दीप लामिछानेले २ चौकाको सहयोगमा १४ रन जोड्दा ललित राजवंशीले ५ बलमा ३ रनमात्र जोडेका थिए । यो सिरिजको विजेता बन्नका लागि नेपाल युएईबीच अब अन्तिम खेल सोमबार हुनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE