Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

मोबाइलको विषयमा विवाद हुँदा पेटमा चक्कु प्रहार गरी युवकको हत्या प्रयास

काठमाडौं – बिहीबार दिउँसो १२ बजे जडीबुटीमा दोलखा घर भएका २४ वर्षीय सुभाष बुढाथोकीमाथि चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भई जडीबुटी बस्दै आएका डिम्पल घिसिङ र सिनामगंल घर भएका आशिष बयालकोटीलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख एलिजा गिरीको कमाण्डमा खटिएको टोलीले दिउँसो ४ बजेतिर लोकन्थलीबाट पक्राउ गरेको हो ।

मोबाइलको विषयलाई लिएर विवाद हुँदा उनीहरुले बुढाथोकीलाई चक्कु प्रहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको कोटेश्वरकी प्रमुख इन्सपेक्टर गिरीले रातोपाटीलाई जानकारी दिइन् ।  चक्कु प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीको पेटको आन्द्रा समेत काटिएको प्रहरीले जनाएको छ । घटनालगत्तै बुढाथोकीलाई सहयात्री अस्पतालमा सामान्य उपचारपछि वीर अस्पतालमा रिफर गरिएको थियो ।

बुढाथोकीको अप्रेशन गर्नुपर्ने भएकार कारण वीर अस्पतालले पनि बुढाथोकीलाई अहिले टिचिङ अस्पताल रिफर गर्ने तयारीमा छ । घटना भएलगत्तै महानगरीय प्रहरी परिसर टेकु, महानगरीय अपराध महाशाखा र कोटेश्वरको प्रहरी टोली उनीहरुको खोजीकार्यमा परिचालन भएको थियो । ४ घण्टाको प्रयासपछि उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE