Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

जण्डिसको उपचार गराईरहेका माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

१७ आश्विन, काठमाडौं –नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत हुनुहुन्छ । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए ।

‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको छ’, उपचारमा संलग्न डा.नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुन पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भन्नुभयो । घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाउनुभएको छ। उक्त औषधिले राम्रो काम गर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।

‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भन्नुभयो, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ ।’ यद्यपि बान्ता भने नरोकिएको जानकारी उहाँले जानकारी दिनुभयो । खाना खान अरुची हुने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ । जण्डिसको मात्रा अत्याधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो ।

तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थियो । चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो। पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित भएको बताईएको छ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE