Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

’महाअभियोग’ मुद्दामा ओली–दाहाल भनाभन, आज ओली–दाहालबीच संवाद गर्ने तयारी

दाहाललाई ओलीको प्रश्न : राष्ट्रपतिलाई महाअभियोग लगाउने भनेर कानुन व्यवसायीसँग किन छलफल गरियो ? दाहालको जवाफ : गलत कुरा नगर्नुस्, छलफल भएको भए प्रमाण ल्याउनुस्

काठमाडौँ—’राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको’ भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच महाअभियोगकै विषयमा आरोप–प्रत्यारोप भएको हो ।
शनिबार साँझ मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भएको भन्दै यसका विरुद्ध लड्ने रणनीति सार्वजनिक गर्नुभएको थियो । त्यसको अर्को दिन भेटमा ओली र दाहालबीच सवालजवाफ भएको हो ।
छलफलको सुरुमै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने गरी कानून व्यावससायीसँग किन छलफल गरेको भन्ने प्रश्न गर्नु भएको थियो । जवाफमा दाहालले ‘गलत कुरा नगर्नुस्, महाअभियोगबारे कहीं कतै छलफल भएको भए प्रमाण दिनुस’ भन्नु भएको नेकपा स्रोतले बतायो । त्यसपछि ओलीले ‘मलाई थाहा छ, तपाईंहरु के गर्दै हुनुहुन्छ’ भन्ने जवाफ फर्काएको स्रोतले बतायो । बालुवाटारमै मन्त्रीहरु बोलाएर गलत सूचना प्रभाह गरेको भन्दै दाहालले पनि असन्तुष्टि पोख्नु भएको थियो ।
दाहालसँगको भेटमा ओलीले शनिबार खुमलटारमा सचिवालयका ६ सदस्य बसेर सरकारविरुद्ध षडयन्त्र गरेको आरोप लगाउनु भएको थियो भने जवाफमा दाहालले प्रधानमन्त्री नै पार्टी फुटाउन लागेपछि सल्लाह गर्न बसेको जवाफ दिएको स्रोतले जानकारी दियो
शनिबार दाहाल निवासमा दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामहादुर थापाबीच छलफल भएको थियो । यसैलाई लिएर प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो । खुमलटारमा केही कानून व्यवसायीसँग दाहाल–नेपाल समूहका नेताहरुको छलफललाई लिएर ओलीले प्रश्न उठाएका थिए । स्रोतका अनुसार जवाफमा दाहालले ‘तपाईंले पार्टी विभाजन गर्नुभयो भने के गर्ने भनेर छलफल गरेको हो’ भन्ने जवाफ दिनुभएको थिायो । बालुवाटारबाटै प्रधानमन्त्री आफैंले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएको बताएकोमा अध्यक्ष दाहालको असन्तुष्टि रहेको थियो ।
आइतबार केहीबेर महाअभियोगकै मुद्दामा दुई अध्यक्ष ओली र दाहालबीच सवालजवाफपछि थप संवाद सोमबार गर्ने सहमति बनेको थियो । त्यसका लागि गृहकार्य गर्न महासचिव विष्णु पौडेल, बर्षमान पुन, शंकर पोखरेल र जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । चार नेताको गृहकार्यपछि सोमबार ओली–दाहालबीच संवाद गर्ने र त्यसपछि मात्रै स्थायी कमिटी बैठक बस्ने नेताहरुको तयारी छ ।
नेकपाको स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ । नेकपामा दाहाल–नेपाल समूह प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा गर्नुपर्ने अडानमा छ । ओलीले अन्तिमसम्म लड्ने तर राजीनामा नदिने जवाफ दिएका छन् । यही विवादले असार १० बाट बसेको स्थायी कमिटी बैठक पटक–पटक स्थगित भएको छ । दुवैपक्ष भावी कदमबारे विमर्शमा जुटेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE