Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

निजीक्षेत्रलाई पनि अन्तरदेशीय विद्युत् व्यापार गर्न दिन विद्युत् विधेयक, २०७७ राष्ट्रिय सभामा दर्ता

काठमाडौं-निजीक्षेत्रले पनि अन्तरदेशीय विद्युत् व्यापारमा सहभागी हुन पाउने छन् । उर्जा मन्त्रालयले हालै अन्तरदेशीय विद्युत् व्यापारमा निजीक्षेत्रलाई सहभागी गराउने प्रस्ताव विद्युत् विधेयक, २०७७ राष्ट्रिय सभामा दर्ता गरेको छ । यो विधेयक दुवै सदनबाट पारित भएमा निजी ऊर्जा कम्पनीहरूले ऊर्जा मन्त्रालयबाट अनुमति लिई अन्तरदेशीय विद्युत् व्यापार गर्न पाउने छन् ।
स्वीकृतिप्राप्त कम्पनीहरूले विद्युत्को आयातनिर्यात पनि गर्न पाउने व्यवस्था विधेयकको दफा ३० मा उल्लेख गरिएको छ । विधेयकअनुसार स्वीकृतिप्राप्त कम्पनीहरूले अन्तरराष्ट्रिय बजारमा नै विद्युत् व्यापार गर्न पाउनेछन् ।
हाल नेपालमा नेपाल विद्युत् प्राधिकरणले मात्र विद्युत्को आयातनिर्यात गर्दै आएको छ । अब पहिलोपटक कानूनी रूपमा विद्युत् व्यापार गर्न नीतिगत व्यवस्था गर्न लागिएको हो । संसद्बाट विधेयक पारित भएपछि विद्युत् व्यापार कम्पनीले अनुमति लिई आन्तरिक तथा अन्तरदेशीय रूपमा विद्युत् व्यापार गर्न पाउनेछन् ।
अनुमतिप्राप्त कम्पनीले अन्तरदेशीय व्यापार गर्दा सम्बद्ध मुलुकको मापदण्ड पनि पूरा गर्नुपर्नेछ । भारतको हकमा विद्युत् आयातनिर्यात गर्दा त्यहाँको केन्द्रीय विद्युत् नियमन आयोगले तोकेको मापदण्ड पनि पूरा गर्नुपर्ने व्यवस्था रहने ऊर्जा मन्त्रालयले जनाएको छ ।
विधेयक लागू भएपछि नेपालमा विद्युत् आपूर्तिको सुनिश्चिततासमेत हुने ऊर्जा मन्त्रालयको भनाइ छ । नेपालमा हिउँदको समयमा विद्युत् उत्पादन कम हुँदा छिमेकी मुलुक भारतबाट विद्युत् आयात गरेर आपूर्तिलाई सन्तुलनमा ल्याउन सहयोग पुग्ने मन्त्रालयको ठहर छ । नेपालमा मौसमअनुसार विद्युत् उत्पादन फरक छ । तर, आवश्यक कानूनी व्यवस्था नहँुदा विद्युत् आपूर्तिलाई सन्तुलनमा राख्न अझै पनि समस्या रहेकोले यो प्रस्तावित व्यवस्था लागू भए पछि सुक्खा याममा विद्युत् कम भयो भने तत्काल आयात गर्न सकिने मन्त्रालयले जनाएको छ । वर्षाद्मा विद्युत् बढी भयो भने पनि तत्काल निर्यात गर्न कानूनी समस्या रहने छैन ।

नेपालमा विद्युत् व्यापारमा संलग्न नेपाल विद्युत् प्राधिकरण मात्रै भएको सन्दर्भमा यो विधेयक ऐनका रूपमा लागू भएपछि निजीक्षेत्रबाट विद्युत् व्यापार कम्पनीहरू आउने ऊर्जा व्यवसायीहरू बताउँछन् । व्यवसायीहरु विधेयकमा गरिएको व्यवस्था स्वागतयोग्य रहेको बताउछन् । ऊर्जा व्यवसायीहरु यसले विद्युत् आयोजनाहरूको आम्दानीमा सहयोग पुग्ने र अहिले प्राधिकरणले प्रतियुनिट ५ रुपैयाँभन्दा कममा बिजुली किनेर १० रुपैयाँभन्दा बढीमा विक्री गरिरहेको भन्दै ् अब निजीक्षेत्रबाट पनि व्यापार कम्पनीहरू आएपछि प्रतिस्पर्धा बढ्ने बताउछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE