उद्यमी बनाैँ : एक घर एक नयाँ रोजगारको सिर्जना गरौं
स्याङ्जा-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न भएको छ । मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम तथा कार्यक्रमको आयोजना गरेका हुन् ।
ती सहकारी मार्फत अचार बनाउने, च्याउ खेती गर्ने, ढाँका बुन्ने, मौरीपालन लगायतका उद्यमशिलता तालिमहरु दिइएको थियो । मौरीका घार लगायत उद्यमी बन्नका लागि आवश्यक उपकरणहरु समेत वितरण गरिएको छ । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भिडियो संवादमार्फत कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो । त्यस अवसरमा मन्त्री अर्यालले बर्तमान परिस्थिति र जिम्मेवारीको कारणले उक्त कार्यक्रमहरुमा भौतिक रुपमा उपस्थित हुन नसकेता पनि भिडियोमार्फत सम्बोधन गर्नुभएको थियो । ’समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य भेट्नका निम्ती यस्ता कार्यक्रमहरुलार्य निरन्तरता दिन जरुरी रहेको मन्त्री अर्यालले बताउनुभयो ।
हरेक व्यक्तिलाई सीप सिकाउदै आत्मनिर्भर तथा व्यवसायमूखी बनाउन जरुरी रहेको भन्दै मन्त्री अर्यालले अब गाउँमा नै आर्थिक सम्भावनाको खोजी गर्नुपर्ने बताउनुभयो । ’गाउँमा उत्पादन बृद्धी गरेर रोजगारी सिर्जना गर्दै अगाडी बढ्नुपर्ने आजको आवश्यकता रहेको छ । तपाइहरू उद्यमी बनेर बजारलाई आवश्यक पर्ने वस्तुहरु उत्पादन गर्नुस् । त्यसका निम्ती आवश्यक बजारको व्यवस्थापन हामी गर्छौ,’ मन्त्री अर्यालले भन्नुभयो, ’एक घर एक नयाँ रोजगारको अभियानसँगै गाउँमा रोजगारीको सिर्जना गरौं ।’ ’अब हरेक व्यक्ती ज्ञान र सीप सहित आत्मनिर्भर बन्नुपर्छ, स्वरोजगारी र लघु उद्यमी बन्नुपर्छ ।
यसका लागि भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट शुरु गरिएको छ’, मन्त्री अर्यालले भन्नुभयो । अब यस्ता कार्यक्रम निरन्तर गरिने मन्त्री अर्यालले बताउनुभयो । यस्ता कार्यक्रमहरुले जनताको आर्थिक जीवनस्तर बढाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कोरोना महामारीका कारण वर्तमान अवस्थामा सामाजिक दुरी कायम गर्दै स्यानिटाइजर र मास्क समेत प्रयोग गरी कार्यक्रम सम्पन्न गरिएका थियो । स्याङ्जाका पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, भिरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिकाका विभिन्न सहकारी संस्थामा सीपमूलक तालिम सम्पन्न गरिएका हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE