Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा, पुन: नेतृत्व हत्याउने दाउमा देउवा

२३ भाद्र
काठमाडौं-कुनै उल्झन आएन भने नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुनमा हुँदैछ । महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीभित्रको आन्तरिक विवाद भने उत्कर्षमा पुगेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आफूखुसी पार्टीका विभाग विस्तार र त्यसमा सदस्य मनोनयन गरिरहेको भन्दै इतर पक्ष रुष्ट छ । सभापति देउवा जसरी पनि आगामी महाधिवेशनबाट पुनः पार्टीको नेतृत्व आफ्नै पोल्टामा पार्न चाहन्छन् । संस्थापन इतर पक्ष त्यसलाई रोक्न अहिले देखी नै जोड घटाउमा लागेका छन् । संस्थापन पक्षका नेताहरुले सभापति देउवाले महाधिवेशनलाई प्रभावित हुने गरी विभाग गठन गरेको आरोप लगाउँदै आएको छन् । तर सभापति देउवा एकतर्फी ढंगले अगाडि बढिरहेका छन् ।

देउवाले आफूखुशी ढंगले अगाडि बढ्न थालेपछि संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवाले आफ्नो निर्णय नसच्याए अमरण अनसशन बस्नेसम्मको चेतावनी दिएका छन् । महाधिवेशन भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने विभाग अर्को महाधिवेशनको मिति नजिकै आइसकेपछि गर्नुले सभापतिको नियतमा खोट भएको इतर पक्षले आरोप लगाएको छ ।

इतर पक्षले सभापतिले विधानविपरीत गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाउने गरेको छ । ‘सभापतिको हैसियतमा उहाँ (देउवा) ले मनोमानी गर्नु भयो,’ वरिष्ठ नेता रामचन्द्र पौडेल निकट स्रोतले भन्यो, ‘हामीले सभापतिको कामको विरोध गरिरहने तर उहाँले आफू खुशी गर्ने काम रोक्नु भएको छैन ।’ देउवाले आफूहरुका कुरा नसुनेपछि आगामी महाधिवेशनमा त्यसको छिनोफानो गर्ने इतर पक्षको तयारी छ ।

सभापति देउवा विधानविपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणबद्ध आन्दोलनको तयारी गरेको छ । विधानविपरीत भनिएका पछिल्ला निर्णयहरू फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रूपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमूलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ । कांग्रेसको विधानतः चार वर्षको कार्यकाल सकिएपछि तदर्थ समितिमा रूपान्तरण भएपछि सभापति देउवाले संगठनले विस्तार गरेका थिए ।

तर महाधिवेशनको मिति नजिकिँदै गर्दा संस्थापन इतर पक्षले आगामी नेतृतवका लागि सर्वसम्मत निर्णय गर्न सकेको छैन। पछिल्लो समय महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवालाई पराजित गर्ने सामथ्र्य आफूमा मात्र रहेको भन्दै सांकेतिक रुपमा सभापतिमा उम्मेद्वारी दिने जनाउ दिएका छन् ।

उता केन्द्रीय सदस्य शेखर कोइराला १४ औं महाधिवेशनबाट नेतृत्व हत्याउने योजनामा छन् । वरिष्ठ नेता पौडेल आफैं पनि सभापतिका आकांक्षी हुन् । यसरी संस्थापन इतर पक्षभित्र सहमति जुट्न नसकिरहेका बेला संस्थापन पक्षमा भने देउवा निर्विकल्प सभापतिका उम्मेद्वार हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE