काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा यात्रु मृत फेला

✍️रविऋषि
धनुषा , माघ १५ गते : काठमाडौंबाट धनुषाको जटही जाँदै गरेको बसमा ५५ वर्षीय एक यात्रुको शव फेला परेको छ। मृतक भारतको बिहार राज्य, मधुबनी जिल्लाको सिमरी निवासी जगदीश यादव रहेको प्रहरीले पुष्टि गरेको छ।
घटना धनुषाको ढल्केबर क्षेत्रमा भएको हो। मधेश प्र.००४-००१ ख ०१५७ नम्बरको उक्त बस काठमाडौंबाट धनुषाको जटहीतर्फ गइरहेको थियो। ढल्केबर पुग्दा यादवलाई सिटमै मृत अवस्थामा फेला पारिएको बसका चालक तथा सहचालकले जानकारी गराएका थिए।
शव फेला परेपछि इलाका प्रहरी कार्यालय, ढल्केबरले बसलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक जानकारी अनुसार मृतकको मृत्युको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। शवलाई पोष्टमार्टमका लागि पठाइएको छ।
प्रहरीका अनुसार बसका अन्य यात्रु र चालक सँग पनि घटना सम्बन्धमा बयान लिइँदैछ। मृतकको परिवारलाई घटनाबारे जानकारी गराइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE