Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मानव सभ्यताको अस्तित्व र कोभिड १९

संसारको कुनैपनि तागतले जित्न नसक्ने ठान्ने मुलुक र त्यसका राष्ट्रप्रमुख आज मानव जातिको रक्षार्थ गुहार मागिरहेका छन

मानव सभ्यताको अस्तित्व र कोभिड १९
ब्रह्माण्डको सर्वश्रेष्ठ विवेकी प्राणी, विज्ञान प्रविधि, ग्रह उपग्रह, संसारका हरेक वस्तुमाथि विजय प्राप्त गर्न सफल २१ आँै शताब्दीको मानव जगत आज कोभिड १९ को भाइरसका कारण आफ्नो सभ्यता माथिको चुनौति सामना गरिरहेको छ । डार्बिनकै सिद्धान्तलाई सापटी लिने हो भने प्रकृतिसँग संघर्ष र समायोजन गर्न सक्ने अब्बल गुणकै कारण मानिस यो सभ्यतामा विकसित भयो तर २०१९ डिसेम्बरको अन्त्यतिर चीनको वुहान शहरबाट फैलिएको नोबेल कोरोना भाइरसका कारण यतिबेला विश्व आतंकित छ, त्रसित छ । विश्वका ठुला अर्थतन्त्र भएका, विकसित र आफुलाई विज्ञान र प्रविधिमा अब्बल साबित मुलुकहरु पनि यतिबेला उक्त भाइरसले आक्रान्त बनेका छन । चीनमा उत्पत्ति भएर विश्वका विभिन्न मुलुकहरुमा फैलनु अगावै विश्व स्वास्थ्य संगठनले यो भाइरस मानव जातिको लागी भयानक खतरा हुनसक्ने आंकलन गरी ३० जनवरी २०२० मै सार्वजनिक स्वास्थ्यमा आपतकाल घोषणा गरेको थियो तर कतिपय मुलुकहरुले यसलाई कम आंकलन गरे फलस्वरुप आज भयंकर चुनौतिको सामना गरिरहेका छन् । विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका, चीन, जर्मनी, इटाली, स्पेन, फ्रान्स, बेलायत आदि देशहरुलाई यसको संक्रमणले थिलाथिला पारेको छ । संसारको कुनैपनि तागतले जित्न नसक्ने ठान्ने मुलुक र त्यसका राष्ट्रप्रमुख आज मानव जातिको रक्षार्थ गुहार मागिरहेका छन । त्यस्तै यूरोपियन युनियन भित्रका शक्तिशाली मुलुकहरु कोभिड १९ को नयाँ भाइरसबाट सबैभन्दा बढी प्रभाबित भएका छन । अमेरीकामा मात्रै ८१ हजार भन्दा बढीले ज्यान गुमाएका छन् भने इटलीमा ३० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । मृतकको संख्या दिन प्रतिदिन बृद्धि भैरहेको छ । बेलायत, स्पेनजस्ता मुलुकका उच्च घरानाका मानिसहरु पनि यो बाट अछुतो रहेनन ।


विश्वको दास्रो ठुलो अर्थतन्त्र रहेको मुलुक जो २१ आँै शताब्दीमा विज्ञान र प्रविधिमा उच्च फड्को मारेको राष्ट्र चीन, जहाँबाट कोभिड १९ को उत्पति भयो, उसले ठुलो धनजनको क्षति पश्चात केही नियन्त्रण गर्न सफल रहेको छ । यद्यपि हजाराँै मानिसहरु अझै संक्रमित छन र अस्पतालहरुमा उपचार गराइरहेका छन । हाल यसको संक्रमण युरोप र अमेरिकामा दिन दुईगुणा रात चौगुणा बढीरहेको छ, जुन नियन्त्रण भन्दा बाहिर रहेको छ । मानिसहरु भनिरहेका छन कि दोस्रो विश्व युद्धभन्दा बढी त्रास र भय मानव जीवनमा यो भाइरसले सृजना गरेको छ । विश्व पुरै लकडाउनको चरणमा गुज्रीरहेको छ, जनजिवन अस्तव्यस्तै छ, मानिसहरु घरबाट निष्कन पाएका छैनन । मुलतः मानव सभ्यताको अस्तित्व नै नामेट पार्न सक्ने भय मानिसहरुमा छाएको छ ।
आजकोे दिनमा विश्वका कुनैपनि मुलुक कोभिड १९ को प्रभावबाट अछुतो छैनन र नेपालपनि यसको संक्रमणबाट अछुतो रहने कुरै भएन । नेपालजस्ता अल्पविकसित, विज्ञान र प्रविधिमा कमजोर मुलुकहरु वास्तवमै यसको भयानक संक्रमण थेग्न सक्ने देखिदैन यदि प्रारम्भिक चरणमै यसको रोकथाम र सहज अवतरण गर्न नसके । अझै विक्राल रुप लिइनसकेको हुँदा यसको नियन्त्रणमा आक्रामक रुपमा लाग्न जरुरी छ । नेपालको सन्दर्भमा पहिलो केस २४ जनवरी २०२० मै देखिएको थियो भने उपचारपछि सन्चो भएर घर फर्किएको अवस्था हो भने दास्रो केस २३ मार्च मा फ्रान्सबाट फर्किएकी एक युवतीलाई देखियो र उनी पनि उपचारपछि अस्पतालबाट डिस्चार्ज भइन्। तेस्रो केस मार्च २५, चौथौ केस २७ मार्च र २८ मार्चमा बाग्लुङमा अर्काे संक्रमण देखियाे । त्यतिबेला नै सरकारले चनाखाे कदम चालेकाे भए अहिले नेपालमा खतारा कम गर्न सकिन्थ्याे । मुख्यतयाः खुला नाकामार्फत भारतको बाटो हुदैँ नेपाल भित्रने र अन्य विभिन्न मुलुकहरुबाट नेपाल फर्किएका मानिसहरुमा कोरोनाको उच्च जोखिम भेटिएको छ । साच्चिकै यो बेला व्यवस्थापन गर्न नसके स्थिति थप भयावह हुने प्राय निश्चित छ । कोभिड १९ को संक्रमण नियन्त्रण गर्न यति बेला नेपाल सरकारले देशैभरी लकडाउन गरेको छ तापनि भारतबाट मानिसहरुको हुल प्रवेश गरिरहेकै छ । स्थिति असहज छ, भित्रभित्रै भुसको आगो झै संक्रमण फैलिरहेको सहजै अनुमान गर्न सकिन्छ कि चैत्र ४ मा नेपाल फर्किएका संक्रमित व्यक्ति एक/दुई हप्तापछि मात्रै अस्पतालको सम्पर्कमा आउदा त्यो अवधिभर उनको परिवारका सदस्यहरु अन्य साथीभाइहरु छरछिमेकहरु संग कतिसगं सम्पर्क भयो होला । अन्य संक्रमितहरुमा पनि लामो समयपछि संक्रमण रहेको पुष्टि भएको छ तसर्थ कि हामी धेरै चुकिसकेका छौ, स्थिति नियन्त्रण गर्न सबै एकताबद्ध भएर लाग्न जरुरी देखियो ।


हाम्रो सन्दर्भमा लकडाउन एक विशिष्ट र बेग्लै अनुभव हो किनकी हामीले यो संकट भोगेका थिएनौ तर पनि यस्तो असहज परिस्थितिमा सरकारी कदम आम नागरिकले पालना गर्नु कर्तव्य ठहर्छ । यस्तो राष्ट्रिय संकटको बेला नागरिकका केही मौलिक हकहरु मथि पनि राज्यले अंकुस लगाउन सक्ने संवैधानिक व्यवस्था छ । तसर्थ आम जनसमुदायहरु सबैले आ आफ्नो ठाँउबाट यो संकटको बेला हातेमालो गर्न तम्तयार हुनुपर्छ । विशेषतः यो परिस्थितिमा नागरिकका थुप्रै जिम्मेवारी हुनसक्छन, ती जिम्मेवारी निर्वाह गनुपर्छ । राज्यको तर्फबाट लकडाउन गरिएको अवस्थामा एकान्तबाँसमा बसेर आफ्नो र परिवारको संरक्षण गर्नु, समाजमा नबुझेका व्यक्तिहरुलाई सचेत गराउनु परम कतव्र्य हुन जान्छ । यस्तै रोग प्रतिरोधी क्षमता बढाउने विभिन्न क्रियाकलाप गर्ने, शारीरिक अभ्यास, योग व्यायाम प्राणायाम गर्ने, इम्युनिटी पावर बढाउने भोजनहरु सेवन गर्ने हो । हामीले यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने कोही पनि यो रोगबाट त्रसित हुनुपदैैन, यो रोग लाग्दैमा मरिहाल्ने पनि होइन । यसको उदाहरण हामीले देखिसकेका छौ कि विश्वका झण्डै डेढलाख मानिसहरु निको भएर घर फर्किएका छन भने नेपालमा पनि दुईजना संक्रमित उपचार पछि घर फर्किएका छन । तसर्थ बनको बाघले खाओस नखाओस मनको बाघले खान्छ भनेझै मनोवैज्ञानिक त्रासले नलागेको रोगले पनि सताउछ, रोगप्रतिरोधी क्षमता कमजोर पार्छ र सजिलै कोरोना भाइरसले आक्रमण गर्न सक्छ । त्यसकारण त्रसित हुने भन्दा पनि सचेत र जिम्मेवार भैई माहामारीको डटेर सामना गर्नुपर्छ ।
यतिबेलाको सरकारको प्रमुख जिम्मेवारी नै जनताको जीवन रक्षा गर्नु हो । किन त भन्दा राज्यको मुख्य जिम्मेवारी नै आफ्ना नागरिकको सुरक्षा गर्नु हो । राज्यको तर्फबाट यो घडीमा थुप्रै कदमहरु नचालिएका होइनन तापनि यसमा कहिँ कतै अपुग, भद्रगोल र दिर्घकालिन सोचको अभाव रहेको आभास भेट्न सकिन्छ । हालसम्म नेपालमा एउटामात्रै ल्यावटेष्ट÷ परीक्षण केन्द्र रहेको छ जहाँ हप्तामा बढीमा पाँचसय जनाको मात्रै परीक्षण गर्न सकिने व्यवस्था छ, यदि संक्रमितको संख्या बढदै गएमा परीक्षण गरी रिर्पोटमात्रै आउन महिनादिन लाग्न सक्छ त्यतिबेला सम्म विरामीको मृत्यु भैसकेको हुनसक्छ । त्यस्तै भद्रगोलसंग निर्माण गरिएका, विना पुर्वाधार निर्माण गरिएको अस्पतालहरु जहाँ कुनै अत्यावश्यक मेडिसिनका सामाग्रीहरु छैनन त्यस्तो ठाँउमा विरामीले कस्तो उपचार पाउलान । विभिन्न तहका सरकारहरुले धेरै ठाँउहरुमा आइसोलेसन÷क्वारेन्टीनहरु निमार्ण गरेका छन त्यहाँ कुनै औषधिजन्य सामाग्रीहरु, खानपान, फोहोर व्यवस्थापन आदि कुनै कुराको पनि उचित प्रबन्ध छैन, कतिपय ठाउँमा प्लाष्टिकका पाल टाँगेर क्वारेन्टीन निर्माण गरिएको छ । प्राकृतिक हिसाबले यो प्रि मनसुनको अवस्था हो, यस्तो मौसममा हावाहुरी थेग्न नसक्ने पालहरु के विरामीको लागी सुरक्षित होलान त? आँगन जोडिएको छिमेकमा ३ महिना अगाडी माहामारी फैलियो हामी ढुक्कसँग कानमा तेल हालेर सुत्याँै जव संक्रमण देखियो अनि एक्कासी लकडाउन, हतारमा बेतालका कोरोना अस्पताल, क्वारेन्टीन, आइसोलेसन बेड आदिमा फसिरह्याँै, यसले सन्निकटको माहामारी थेग्नेमा शंका छ । साँच्चिकै इटालीको जस्तो परिस्थिति देखा परे विरामीहरुलाई खुला चौरमा राख्नुपर्ने हुनसक्छ ।


विभिन्न अनुसन्धानकर्ता र डाक्टरहरुले सुझाव दिएका छन कि यसको संक्रमणबाट बच्न संक्रमित व्यक्तिलाई अन्य व्यक्ति र समाजबाट बिच्छेद गर्नु नै हो । कुनै परिवारमा एकजना संक्रमित भयो भने उसँग सम्पर्कमा आउने उसका परिवार, छिमेकी, साथीभाई सम्पूर्णमा यो रोग सर्छ त्यसै अनुरुप लामो श्रृखला बन्छ र पुरै महामारी फैलिन्छ । तसर्थ प्रारम्भिक चरणमा देखा परेका संक्रमितहरुको जुन श्रखला छ, जुनजुन व्यक्तिहरुसँग उसको सम्पर्क भयो तीनको तत्काल खोजी गरी आइसोलेसनमा राख्ने, परीक्षण, उपचार गर्ने र नयाँ व्यक्तिहरुसँगको श्रखला टुटाउन सके यसको संक्रमणलाइ नियन्त्रण गर्न सहज हुनसक्छ । परीक्षणहरुबाट के तथ्य फेला परेकाछन भने स्वस्थ र इम्युनिटी पावर धेरै भएका व्यक्तिहरुमा यसको लक्षण ढिला देखिन्छ त्यसकारण बाहिरी मुलुकबाट आएका हरेक नागरिकलाई ध्ज्इ को मापदण्ड बमोजिम दुई हप्ता अनिवार्य आइसोलेसनमा राखेर हेरचाह, परिक्षण र उपचार गर्नुपर्छ र विदेशबाट आएका नागरिकहरुले पनि यसमा सहयोग गर्नुपर्छ । यो संक्रमणको फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाइ सुरक्षाका सामाग्रीहरुको पुर्व र पूर्णरुपमा व्यवस्था गरिनुपर्छ कि उनीहरु ढुक्कले काम गर्न सकुन । सरकारी अस्पतालहरु, नयाँ निर्माण गरिएका कोरोना अस्पतालहरु, क्वारेन्टीनहरुमा आवश्यक सामाग्रीहरुको पूर्ण बन्दोबस्त गर्नुपर्यो, आवश्यकता अनुसार नीजि अस्पतालहरुलाइ कोरोना अस्पतालको रुपमा परिवर्तन गर्न पहल गर्नुपर्याे, अस्थायी पाल भन्दा विभिन्न संघसंस्था, विद्यालय, विश्व विद्यालय, होटेल, रिसोर्टहरुमा बिरामीहरुको लागी आइसोलेसन र क्वारेन्टीनको व्यवस्था गर्नुपर्याे । तीनै तहका सरकारको राम्रो समन्वय र सहकार्य गरी राज्यका अन्य निकायहरु, नागरिक समाज, सामाजिक अभियन्ता, कार्यकर्ताहरुलाइ सुरक्षित रुपमा परिचालन गरेर हरेक व्यक्तिको डाटा संकलन गर्ने, सचेतना जगाउने, बाह्य मुलुकबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न सहयोग गर्ने, आवश्यकता अनुसार अस्पतालसम्म पुर्याउन सहयोग गर्नुपर्छ । विभिन्न तहमा समितिहरुमात्रै निर्माण गर्नु भन्दा कामकाजी र भावी जोखिमलाई आंकलन गरी संभावित जोखिम आउनु भन्दा १ कदम अगाडी नै सोच्ने र योजनाबद्ध काम गर्ने समिति निर्माण गरी परिचालन गर्नुपर्छ ।
माहामारीको यो बेला देश ठप्प छ, यसको प्रभाव सबैभन्दा बढी गरीब, निमुखा र गरीखाने वर्गमा परेका छ । चारपाँच दिनकै लकडाउनले सबैमा उकुसमुकुस बनाउको छ महिनौँ दिनसम्म यो परिस्थिति लम्बिन गयो भने कोरोना भन्दापनि धेरै भोक र अन्य रोग चुनौतिको देखिने कुरामा पनि सरकार उत्तिकै चनाखो हुनुपर्छ । तसर्थ सरकार यतातिर पनि चनाखो भैइ अति आवश्यक वस्तुको सहज र निशुल्क आपुर्ति गर्नसक्ने क्षमता तयार गरेर बस्नुपर्छ । भारत सरकारले पुन २१ दिन लकडाउन लम्ब्याएको छ । प्रधानमन्त्री मोदीले झण्डै तीन करोड गरीबलाई लकडाउन अवधिभर घरघरमै निशुल्क खाद्यन्न वितरण गर्ने घोषणा गरेकाछन । के नेपाल सरकारले त्यो तयारी गरेको छ ? यदि छैन भने त्यसको तुरुन्तै जोह गर्नुपर्छ । खान नपाएर भोकभोकै बस्नुपर्ने बाध्यता आइलागे कोरोनासँगै अर्कै संक्रमित विद्रोह राज्यले बेहोर्नुपर्ने हुनसक्छ । तर्सथ राज्यले रोगबाट बचाउन गरेको लकडाउनसंगै भोगबाट बचाउन पनि पुर्व तयारी गर्नुपर्छ ।
भुपाल सिँह ठकुर
सुर्खेत

WRITE COMMENTS FOR THIS ARTICLE