Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

हाम्रो भूमिमा बसेर कुरा गर्न मिल्दैन भन्दै चिनियाँ सेनाले स्थलगत अध्ययनमा गएको नेपाली टोलीलाई फर्काइ दियो

७ असोज
काठमाण्डौँ – चिनियाँ पाक्षले नेपालको भूमिमा नभई आफ्नै भुमिमा भवन बनाएको दाबी गरेको छ । हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले आफ्नै भूमिमा भवन बनाएको दाबी गरेको हो । चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि उक्त विषयमा दुई पक्षबीच वार्ता गर्ने अवस्था नभएको अध्ययन टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिनुभयो ।

अध्यक्ष तामाङका अनुसार नक्सामा भवन बनेको क्षेत्र नाम्खा गाउँपालिकाको भूभागमा देखिन्छ । विगतमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएका थिए । सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको स्थलगत अध्ययन गर्न आइतबार चिनियाँ पक्षले भवन बनाएको भनिएको स्थानमा पुगेको थियो ।

त्यहाँ हराइरहेको सीमा स्तम्भ पहिचान गर्नुपर्ने र उक्त क्षेत्रमा देखिएको सीमा विवाद कूटनीतिक ढङ्गले हल गर्नुपर्ने सुझाव दिने अध्ययनमा संलग्न अधिकारीहरूले बताएका छन् । नेपाली स्थलगत अध्ययन टोली त्यहाँ पुग्दा चिनियाँ प्रहरीहरू बसिरहेको पाइएको र उनीहरूले नेपाली पक्ष आएको भन्दै चिनियाँ सेनालाई बोलाएको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

भवनहरू बनाएकोभन्दा एक किलोमिटरवर नेपालतर्फको क्षेत्रको भूभाग हाम्रो हो भन्ने चिनियाँ पक्षको भनाइ छ । नेपालको ११ नम्बरको पिलर हालसम्म नभेटिएकाले हामीलाई यकिन गर्न गाह्रो भयो । लाप्चा लेकमा रहेको हाम्रो १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने त्यो भवनहरू बनेको ठाउँ हाम्रै भूमिमा पर्ने देखिन्छ अध्ययन टोलीका एक अधिकारीले बताउनुभयो ।

अहिले भवन बनेका भन्दा साढे दुई किलोमिटर उत्तरतिर आफूहरूले बाटो खनेको भन्दै उपभोगका हिसाबले उक्त भूमि नेपाली भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लगभग डेढ घण्टा भवनहरू बनेको क्षेत्रमा बिताए पनि चिनियाँ पक्षका सीमा र सुरक्षा हेर्ने सैनिक टोली आएपछि वार्ता गर्न नसकिने भन्दै चिनियाँ सैनिक र सीमा हेर्ने टोलीले नेपाली टोलीलाई फर्काइदिएका थिए । “हाम्रो भूमिमा बसेर कुरा गर्न मिल्दैन । तपाईँहरूकै सीमा क्षेत्रमा फर्किनुहोस् भनेपछि हामी माथि आयौँ । कुरा भएको त्यति हो । हाम्रो नक्सामा कायम छ भनेर उहाँहरूले भन्नुभयो । एघार नम्बरको पिलर फेला नपरेसम्म हामीले केही भन्ने अवस्था रहेन ।” एक अधिकारीले बताउनभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE