Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

चुरे दोहन गरी प्रदेश २ लाई मरुभूमि बनाउने निर्णय नसच्याए आवश्यक निर्णय लिन्छौँः मुख्यमन्त्री राउत

२० जेठ, काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ लाई मरुभूमि बनाउने केन्द्र सरकारको निर्णय नसच्याए आवश्यक निर्णय लिने चेतावनी दिनुभएको छ।

मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई मधेशलाई मरुभूमि बनाउने बजेट वक्तव्य सच्याउन आग्रह गर्नुभएको छ । बजेट वक्तव्य नसच्याए आवश्यक कदम चाल्ने उहाँको भनाइ रहेको छ। प्रदेश सरकारले संघ सरकारविरुद्ध झण्डै आधा दर्जन मुद्दा दिइसकेको छ।

केन्द्र सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा खानीजन्य ढुँगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गर्ने उल्लेख गरेको छ।

उक्त व्यवस्थाप्रति प्रदेश २ सरकारको गम्भीर ध्यानकर्षण भएको मुख्यमन्त्री राउतले जनाउनु भएको छ ।

प्रदेशको सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे क्षेत्रको उत्खनन् गरे देशको अन्न भण्डारको रुपमा रहेको प्रदेश २ मरुभूमिको रुपमा परिणत हुने मुख्यमन्त्री राउतले बताउनु भएको छ।

उहााले  चुरे क्षेत्र यस प्रदेश २ को रक्षा कवचको रुपमा रहेको र चुरे क्षेत्रको माटो कमजोर रहेकोले उत्खनन् पश्चात नदीको बहाव तीव्र हुने र तीव्र बहावले बगाएर ल्याउने बालुवा मधेशमा थुप्रिदै जाने बताउनु भएको छ ।

प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकोले चुरे दोहनले यी सबै प्राकृतिक सम्पदा गुमाउने निश्चित रहेको मुख्यमन्त्री राउतले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ  ।

‘वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहान संरक्षणको साथै प्रदेश नं २ लाई मरुभूमिकरण हुनबाट जोगाउने कार्य प्रति प्रदेश सरकार सजग छ। तसर्थ, नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह गर्नुको साथै यस्तो कार्य तत्काल नरोकिए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ,’ विज्ञप्तिमा उल्लेख गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE