Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

प्रधानमन्त्रीलाई ऋचा शर्माको खुलापत्र, ‘भोलि मेरी छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ’

२३ असोज
काठमाडौँ – अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । उनले पछिल्लो समय देशमा बलात्कारका घटना, सरोकारवाला पदमा बसेका व्यक्तिले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै पत्र लेखेकी हुन् ।

गत साता गृहमन्त्री रामबहादुर थापाले बलात्कारका बारेमा दिएको अभिव्यक्ति विवादमा आएको थियो। धेरैले आपत्ति जनाएको उनको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै ऋचाले पनि सामाजिक सञ्जालमा थापा र अघिल्ला मन्त्री तथा राजनीतिज्ञका गैरजिम्मेवार अभिव्यक्तिको हिसाबकिताब जनताले राखिरहेको भन्दै टिप्पणी गरेकी थिइन्।

चिठी यस्तो छः

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्रीबाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकाले हिजोआज आफैंलाई लाज लाग्न थालेको छ। डर लाग्न थालेको छ। मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ।

मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ। मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकूँला कि भन्ने डर लाग्न थालेको छ। मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ। मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ।

दिनहुँ स९साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिँडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैंलाई लाज लाग्न थालेको छ। जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयन निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परीक्षा दिएको युगमै छौं झैं लाग्छ।

हामी टेक्नोलोजीले चाहिँ विकसित भयौं, तर अफसोच, सोचले अझै पिछडिएका छौं।

यहाँ बालिकाहरुलाई समेत खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं। जनताको नभए पनि एकचोटि परिवारमा छोरी नातिनीको आँखामा आँखा जुधाइ भनी हेर्नुस्। के यो देशमा उनीहरु सुरक्षित छन् र रु म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन्। बाँकी तपाईंहरू बुझ्झकी !

निवेदक एक आम नेपाली नारी,
ऋचा शर्मा

WRITE COMMENTS FOR THIS ARTICLE