Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

‘लकडाउन’ले ‘लक’ नभएको उद्योग

८ कात्तिक
काठमाडौँ – सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको भावना पुलामीमगरको फूलबारी दुना–टपरी उद्योगमा टपरी बनाउने व्यस्तता बढेको छ ।
 
सुरुमा टपरी कोही किन्न मान्दैनथे तर अहिले माग निकै छ, भावनाले भन्नुभयो, “लकडाउनमा सबै कारोबार लक भए हामीले भने त्यो बेलासमेत धेरै टपरी बनायौँ । अहिले फेरि दशैँ, तिहारमा चाहिने दुना–टपरी बनाइरहेका छौँ । ”
 
उहाँले पुराना कुरा सुनाउँदै भन्नुभयो, “तीन वर्ष टपरीका बारेमा प्रचार गरिसकेपछि अहिले टपरी उद्योगले कमाइको लय समातेको छ । फाइबरभन्दा अर्गानिक सालको पातको टपरीमा खाने कुरा खाँदा सजिलो हुन्छ भन्ने सम्झाउन सकेपछि अहिले माग पु¥याउनै गाह्रो छ । ” उहाँका अनुसार आजभोलि मःम, चाउमिन, अरू खालका नास्ता, खानाका लागिसमेत टपरी प्रयोग हुने गरेको छ ।
 
सुरुमा आफूलाई थोरैले मात्र पत्याएको बताउँदै उहाँले काठमाडौँ, डडेल्धुरा, महेन्द्रनगर, धनगढी र फूलबारीका विभिन्न व्यवसायीले अहिले आफ्नो टपरी लैजान थालेको जानकारी दिनुभयो ।
 
विदेशमा कार्यरत श्रीमान्ले समेत ‘टपरीसितै बिहे गर, मैले डिभोर्स गरेँ’ भनेर दुईपटक फोनमा भनेको स्मरण गर्दै भावनाले आफू महोत्सवहरूमा उद्योगीका रूपमा सम्मानित हुन थालेपछि भने श्रीमान् सकारात्मक भई नेपाल आएर घरमा म अरू नै व्यवसाय गर्छु भन्न थालेको बताउनुभयो । “त्यसो गर्नुभयो भने म अर्को ठाउँमा उद्योग खोल्छु । म अब यो व्यवसायमा भिजिसकेकी छु,” उहाँले भन्नुभयो । यो खबर गोरखापत्र दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE