Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

इटालीमा फेरि ह्वात्तै बढ्यो संक्रमण, एकैदिन १९ हजारबढी संक्रमित

८ कार्तिक
एजेन्सी – युरोपको कोरोना सेन्टर मानिएको इटालीमा फेरि संक्रमणले गति लिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित फेला परेका छन् ।

इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ १ लाख ८२ हजार स्वाब परीक्षण गर्दा १९ हजार १४३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । वर्ल्डोमिटर्सले पनि यो तथ्यांक अपडेट गरेको छ ।

एकैदिन १९ हजारबढी संक्रमित थपिएसँगै इटालीमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ८४ हजारभन्दा बढी पुगेको छ, जसमध्ये सक्रिय संक्रमित संख्या १ लाख ८६ हजारभन्दा बढी रहेको छ ।

इटलीमा हालसम्म ३७ हजार ५९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ शुक्रबार मात्रै थप ९१ जनाको मृत्यु भएको छ । तर त्यहाँ हालसम्म २ लाख ६१ हजार भन्दा बढी मानिस भने संक्रमणमुक्त भइसकेका छन् ।

कोरोना संक्रमण युरोपमा फैलिँदा भाइरसको इपिसेन्टर बनेको इटालीमा फेरि संक्रमणको गति बढेको हो । संक्रमण बढेसँगै इटाली सरकारले गत हप्ता रात्रिकालिन कर्फयु सहितको नयाँ प्रतिबन्ध लागू गरेको थियो ।

युरोपका अन्य देशहरू बेलायत, फ्रान्स, स्पेन, रूस, बेल्झियम लगायतमा पनि संक्रमण दर तीव्र रूपमा बढिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE