नेकपा बैठक : अध्यक्ष ओलीलाई सामूहिक भेटेर बैठक बोलाउन आग्रह गर्ने निर्णय
कात्तिक २१
काठमाडौं – सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकले सचिवालयको आधिकारिक बैठक बोलाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ। शुक्रबार धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठकले सचिवालयको आधिकारिक बैठक बोलाउन अध्यक्ष ओलीलाई भेटेर सामूहिक आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष केपी ओलीको सहमतिमै बैठक बोलाउने समझदारी भएको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठकमा प्रचण्डसहित वरिष्ठ नेताहरूद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए। तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा र अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेल भने बैठकमा उपस्थित छैनन्।
बिहीबार बालुवाटारमा भएको अध्यक्षद्वय ओली र प्रचण्डबीचको भेटमा सचिवालय बैठक बोलाउने विषयमा सहमति जुटेको थिएन। अध्यक्ष प्रचण्डले विवादबारे छलफल गर्न सचिवालय बैठक बोलाउन माग गरेपनि अर्का अध्यक्ष ओली सहमत भएका थिएनन्। अध्यक्ष ओलीले बैठक बोलाउन नमानेपछि कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रबार सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए।
नेकपाभित्र कर्णालीमा प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव, राजदूत नियुक्तिका लागि सिफारिसको निर्णय, मन्त्रिपरिषद् विस्तार, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट लगायतका विषयलाई लिएर विवाद चर्किएको छ। विवादले उग्ररुप लिन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उपाध्यक्ष बामदेव गौतमलाई शीतलनिवास बोलाएर पार्टीलाई फुटबाट जोगाउने गरी भूमिका खेल्न आग्रह गरेकी थिइन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE