Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सुस्थिर राजनीतिमा व्यवधान हाल्दै विकास र समृद्धिविरुद्ध चुनौती खडा गरिएको छ : प्रधानमन्त्री ओली

१६ माघ
काठमाडौँ –
प्रधामन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्वविरुद्ध व्यवधान खडा गरिएको भन्दै सबै मिलेर त्यसको सामना गर्नुपर्ने बताउनुभएको छ ।

शहीद दिवस २०७७ का अवसरमा एक श्रद्धाञ्जली सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य छ । सुस्थिर राजनीतिमा ब्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाबिरुद्ध खडा गरिएका चुनौतीहरुलाई हामी सबैले एकजुट भएर पारजित गर्नु पर्दछ ।’

उहाँले शहीदहरुको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट नै समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तब्य आफूहरुले तय गरेको बताउनुभयो । सन्देशमा भनिएको छ, ‘देशको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति ‘भावपूर्ण श्रद्धाञ्जी’ अर्पण गर्दछु ।’

जहानियाँ राणा शासनविरुद्धको संघर्षका क्रममा विसं १९९७ सालमा नेपाल आमाका बीर सपूतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गरेका थिए । बलिदानको त्यही गाथालाई शहीद सप्ताहका रुपमा मनाउने गरेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले शहीदहरुकै बलिदानबाट आज संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउनुभयो ।

‘आज हामीले जनतालाई अधिकारसम्पन्न बनाई शहीदहरुको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेका छौँ,’ उहाँले भन्नुभएको छ, ‘लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्था सहितको प्रणाली संस्थागत भएपछि अधिकार प्राप्तिका लागि गरिएको लामो संघर्षको चरण पूरा भएको छ । शहीदहरुको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक ब्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा हामी छौँ ।’

सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको ब्यवहारिक कार्यान्वयन मार्फत् मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढेको बताउँदै उहाँले शहीदहरुले देखेको सपनाकको सार देशको समृद्धि र जनताको सुख रहेको बताउनुभयो ।

देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि तिनै शहीदहरुका सपनालाई मूर्तरुप दिन सरकारले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएको दाबी गर्दै उहाँले भन्नुभएको छ, ‘भैतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपद्मा परेका जनताको ब्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएका छौं । हामीले थालनी गरेका विकासका दूरगामी योजनाहरुले जनताको जीवनमा परिवर्तन ल्याउने छन् ।’

WRITE COMMENTS FOR THIS ARTICLE