Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

९ असार, काठमाडौँ – देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले पनि मौसम प्रभावित भएको हो ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

यसैबिच पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE