Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

‘ओली विरुद्धको सङ्घर्षलाई कायम राख्नुको विकल्प छैन’ सहज छैन तर सङ्घर्षमा नथाकौँ : नेपाल

‘ओली विरुद्धको सङ्घर्षलाई कायम राख्नुको विकल्प छैन’ सहज छैन तर सङ्घर्षमा नथाकौँ : नेपाल

२६ फागुन
काठमाडौँ – सर्वोच्च अदालतले एमाले र माओवादीलाई आफ्नो आफ्नो स्थानमा फर्काएपछि पहिलो पटक माधवकुमार नेपाल समूहको छुट्टै भेला भएको छ । मङ्गलवार साँझ बानेश्वरमा भएको भेलामा माधव नेपाल लगायत भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरूले अहिले परिस्थिति निकै जटिल रहेको बताउनु भएको थियो ।

भेलामा सुरेन्द्र पाण्डे, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहोराले पार्टी निर्माण गर्दाको अवस्था र ओलीले जानकारी नै नदिई माओवादीसँग निर्वाचनको मोर्चा बनाएको तथा वैचारिक रूपमा सबल नभई हचुवाको भरमा जबरजस्ती एमाले विघटन गराएर आफूहरूलाई एमाले विरोधी बनाउन खोजेको बताएका थिए । उनीहरूले हिजोको दिनमा एमाले कसले विघटन गरायो भन्ने बारेमा गम्भीर समीक्षा आवश्यक रहेको बताएका थिए । उनीहरू अहिले पार्टीभित्रै मोर्चा बन्दी गरेर अन्तर सङ्घर्ष गर्ने मनस्थितिमा रहेको स्रोतले बतायो ।

भेलामा नेपाल समूहका अधिकांश सांसदहरू उपस्थित रहेका थिए । केही नेताहरूले आपसी छलफलबाटै निकास निकाल्नुपर्ने सुझाव दिएका थिए। नेता भीम रावलले अब बस्ने स्थायी कमिटी वा केन्द्रीय कमिटीमा आफ्ना धारणा राख्ने र त्यही अनुसार अघि बढ्ने बताएका थिए। ‘हिजो एमाले विघटन गराएर पार्टी तहसनहस बनाउने त केपी ओली हुन अहिले उनलाई देवत्व करण गर्नु आवश्यक छैन’, नेता रावलको भनाई उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने ।

माओवादी केन्द्रले आफ्नो समूहको दुई पटक स्थायी कमिटीको बैठक राखिसक्दा पनि एमालेको भने ओली समूहको बाहेक सबै समेटिएर एउटा पनि बैठक बसेको छैन । ओली समूहले नेपाल पक्षसँग कुनै छलफल पनि गरेको छैन । ‘नेताहरूसँग कुनै पनि प्रकारको छलफल र कुराकानी छैन त्यस कारण बैठक कहिले कहाँ के कसरी भन्ने जानकारी छैन, केन्द्रीय कमिटीभन्दा अघि स्थायी कमिटी वा पदाधिकारीहरूको बैठक बस्नुपर्ने होला’, नेपाल पक्षीय एक नेताले भने ।

 

WRITE COMMENTS FOR THIS ARTICLE