Date
आइत, साउन १७, २०७८
Sun, August 1, 2021

पहिराले जुडीफाँट–चित्रेभञ्याङ सडक अवरुद्ध

४ असार, दमौली – अविरल वर्षातले पहिरो खस्दा तनहुँ र स्याङ्जा जोड्ने शुक्लागण्डकी दुलेगौडा ढोरबाराही मोटर मार्गको ‘जुडीफाँट–चित्रेभञ्ज्याङ सडक’ अवरुद्ध भएको छ । तीन दिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

धेरै स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकाररीदिनुभयो । “कतै ग्याबिनझालि सहित बाटो खसेको छ । कही बाटो माथिबाट ठूला–ठूला पहिरो खसेका छन्,” उहाँले भन्नुभयो । अत्यावश्यक काममा दुलेगौँडा पोखरा जानुपर्ने स्थानीयबासी चिसापानीबाट राइपुर हुँदै घण्टौ लगाएर यात्रा गर्न बाध्य हुनुपरेको छ ।

शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँटदेखि हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने सडक कालोपत्रेका लागि स्तरोन्नति भइरहेको थियो । सडक फराकिलो पार्ने र ग्याबिन जाली भर्ने काम सकिएको थियो । पहिरो गएसँगै काम रोकिएको छ ।

सो गाउँपालिकाको केन्द्रलाई गण्डकी प्रदेशको केन्द्र पोखरासँग कालोपत्रे सडकबाट जोड्ने उद्देश्यका साथ प्रदेश सरकारको लगानीमा क्याङ्दी खोलामा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भईरहेको छ । रु ३२ करोड ६५ लाख ४७ हजार एक सय ४९ मा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ । पुलमा क्षति नपु¥याएको जनाइएको छ । अवरुद्ध सडकलाई खुलाउन शुरु गरिएको गोल्डेनगुड बानियाँ जेभीका साइट सुपरभाईजर रामबहादुर गोलेले बताउनुभयो । “पहिरो हटाउन शुरु गरेका छौँ । गाडी चल्न मिल्ने स्थितिमा ल्याउन मात्रै पनि कम्तीमा तीन÷चार दिन लाग्छ,” उहाँले भन्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE