Date
शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

युरोकपः क्वार्टरफाइल अन्तर्गतका खेल आजबाट

युरोकपः क्वार्टरफाइल अन्तर्गतका खेल आजबाट

१८ असार, काठमाडौं– जारी १६ औं संस्करणको युरोकप अन्तर्गत क्वार्टरफाइनलका खेलहरु आजदेखि सुरु हुँदैछन् ।

क्वार्टरफाइनल अन्तर्गतका दुईवटा खेलहरु आज हुनेछन् । जसमध्ये पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन तथा दोस्रो खेलमा बेल्जियम र इटली आमनेसामने हुनेछन् ।

पहिलो खेलमा प्रथम पटक युरोको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९ः४५ बजे हुनेछ भने दोस्रो खेल बेल्जियमले इटालीसँग १२ः४५ देखि प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । यस्तै दोस्रो खेल जर्मनीको म्युनिखमा हुनेछ ।

अन्तिम १६ को खेलमा स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो । यस्तै स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५–३ ले गोलअन्तरले पराजित गरेको थियो ।

स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।
स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो ।

यता दोस्रो खेलमा भिड्ने दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । त्यसैले पनि यो खेल रोमाञ्चक बन्ने अपेक्षा छ । हार्ने टोली युरोकपबाट बाहिरिनेछ ।

इटली लगातार ३१ खेलमा अपराजित छ । पछिल्लो खेलमा अष्ट्रियाविरुद्ध गोल खानुअघि इटलीले लगातार ११ खेलमा क्लिनसिट राखेको थियो । समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको इटलीले अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको थियो ।

उता विश्व नम्बर वान बेल्जियमले साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । बेल्जियमको अहिलेको टोलीलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ । यद्यपि बेल्जियमले कुनै प्रतियोगिता जित्न सकेको छैन ।

क्वाटरफाइनलका बाँकी दुई खेल शनिबार हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE