Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

कोपा अमेरिकाः दक्षिण अमेरिकी दुई पावरहाउसबीचको फाइनलमा मेस्सीप्रेरित अर्जेन्टिनाले मार्ला बाजी ?

कोपा अमेरिकाः दक्षिण अमेरिकी दुई पावरहाउसबीचको फाइनलमा मेस्सीप्रेरित अर्जेन्टिनाले मार्ला बाजी ?

२६ असार, काठमडौं– ४७ औं संस्करणको कोपा अमेरिकाको फाइनल खेलमा विश्व फुुटबलका दुई परम्परागत प्रतिद्वन्दी अर्जेन्टिना र ब्राजिल आमनेसामने हुँदैछन् ।

फाइनल खेल ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार नेपाली समयअनुसार बिहान ५ः४५ बजेदेखि सुरु हुनेछ ।

ब्राजिलको घरेलु भूमिमा भइरहेको जारी प्रतियोगिताको फाइनल खेल विश्व फुटबलका जादुगर मेस्सीप्रेरित अर्जेन्टिनका पछिल्लो पाँच वर्षमा खेलेको चौथो फाइनल भएकाले पनि अर्जेन्टिनाका लागि उपाधि जित्ने महत्वपूर्ण अवसर हुनेछ ।

यता अघिल्लो संस्करणको कोपा अमेरिका विजेता ब्राजिल पनि लगातार दोस्रो पटक प्रतियोगिता जित्ने दाउमा रहनेछ ।

स्टार खेलाडी नेयमार रहेको ब्राजिलले अघिल्लो संस्करणको प्रतियोगिता जित्दा नेयमार सहभागि नभएकाले पनि उनले यस पटक पनि आफ्नो टिमले जित्ने दाबी उनले गर्दै आएका छन् ।

यता ६ पटकका बालोन डिओर जितेका ३४ वर्षीय मेस्सीले बार्सिलोनाबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेपनि अर्जेन्टिनाका लागि भने सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्रै स्वर्ण पदक जितेका थिए । अर्जेन्टिनाबाट खेल्दा भने सिनियर टिमबाट महत्वपूर्ण उपाधि हात पार्न नसकेको आरोप खेप्ने गरेका उनले उपाधि होडमा आफ्नो शतप्रतिशत दिँदै उपाधि लाने दाउमा हुनेछन् ।

उता ब्राजिलका डिफेण्डर मार्क्वन्होसले मेस्सीलाई आफ्नो उद्देश्यमा पुग्नबाट रोक्न प्रयास गर्ने बताएका छन् ।

चार पटकको विश्वकप र छौटौं कोपा अमेरिकाको खेलेका मेस्सीका लागि यो दशौं मुख्य प्रतियोगिता हो ।

फिफा वरीयतामा आठौं स्थानमा रहेको अर्जेन्टिनाले पछिल्लो पटक १९९३ मा कोपा जितेपछि चार पटक कोपा फाइनल हारिसकेको छ । यस पटक अर्जेन्टिनालाई सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गर्ने अवसर छ ।

यता अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले पनि चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध फाइनल खेल्न लागेकोले यो खेल निकै उत्कृष्ट र शक्तिशाली हुने बताउँदै आएका छन् ।

कोपा अमेरिकाको यस संस्करणको फाइनलमा आयोजक ब्राजिलले पेरुलाई १–० ले र अर्जेन्टिनाले कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

फाइनलमा पुगेका यी दुई टोली कोपा अमेरिकामा यसअघि सन् २००७ को फाइनलमा भेट भएका थिए । उक्त भेटमा ब्राजिलसँग ३–० को हार बेहोरेको अर्जेन्टिना उक्त हारको बदला लिने दाउमा रहेको छ ।

ब्राजिल र अर्जेन्टिना दक्षिण अमेरिकी फुटबलका पावर हाउसका रुपमा चिनिन्छन् ।

जारी कोपा अमेरिका सुरुवातमा अर्जेन्टिना र कोलम्बियाले आयोजना गर्ने भनिएता पनि कोभिड–१९ महामारीका कारण अन्तिम समयमा ब्राजिलमा आयोजना गरिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE