Date
बिहि, भदौ २, २०७९
Thu, August 18, 2022

रौतहटमा विद्यार्थी भर्नाबारे विवाद हुँदा झडप, १९ घाइते

रौतहटमा विद्यार्थी भर्नाबारे विवाद हुँदा झडप, १९ घाइते

१८ साउन, काठमाडौं– रौतहटको माधवनारायण नगरपालिका–४ स्थित विसुनपूर्वामा दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएका छन्।

स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयमा विद्यालय पक्ष र भर्ना गराउन आएका अभिभावकबीच विवाद भएपछि झडप भएको थियो ।

झडपमा परी विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ सहित १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

झडपमा घाइतेमध्ये एक जनालाई काठमाडौं रिफर गरिएको छ भने दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ। बाँकी घाइतेहरूको अवस्था समान्य रहेको गरुडाका डिएसपी श्रीराम भण्डारीले बताए।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मृत्यु भएपछि नयाँ समिति चयन गर्नुअघि विद्यार्थी भर्ना गर्न पुगेका अभिभावक रामकलेश्वर मुखिया र प्रधानाध्यपक राजेश राय यादवबीच विवाद भएको थियो।

‘विद्यालय सञ्चालान नगरे पनि खोल्ने, विद्यार्थी भर्ना गर्ने निर्णय भएको थियो। त्यसैबीचमा केही अभिभावकले आफ्नो बच्चालाई भर्ना गराउन फर्म भरेर लिएर आएका थिए,’ उनले भने, ‘तर कुनै फारममा फोटो नमिलेको, अभिभावकको सही नभएको भनेर प्रधानाध्यापकले भर्ना लिन नमानेपछि विवाद भएको थियो।’

झडपमा संलग्न दुवै पक्षका मुख्य एक–एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । झडप भएका दुबै पक्षबीच अहिले इलाका प्रहरी कार्यालय गरुडामा छलफल चलिरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE