Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

किशोरीलाई बेच्न लैजाँदै गरेका दुई महिला सिरहाबाट पक्राउ

दुई किशोरीलाई बेच्न भारततर्फ लैजाँदै गरेका दुई महिलालाई सिरहा प्रहरीले शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ११ की २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका १ की ३५ वर्षीया उषादेवी मलाह रहेको प्रहरीले जानकारी दिएको  छ।

प्रहरीका अनुसार १६ र १९ वर्षीया दुई किशोरीलाई बेच्ने उद्देश्यले माडर नाकाबाट भारत लग्ने योजना पक्राउ परेकी दुबै महिलाले बनाएकी थिइन्। तर चोहर्वामै उनीहरू पक्राउ परेकी छन्। लहान आश्रममा मासिक ५० हजारको जागिर लगाइदिने आश्वासन दिएर दुबै किशोरीलाई महिलाहरूले लहान ल्याएकी थिइन् । लहान आइसकेपछि जनकपुरमा अझ बढी रुपैयाँ कमाउने भन्दै झुक्याएर भारततर्फ लग्न खोजेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले किशारीलाई भारततर्फ लान ठिक्क पारेको अवस्था दुई महिला पक्राउ परेको जानकारी दिए। उनले जिल्ला अदालतबाट म्याद थप गरी दुबै महिलामाथि आवश्यक अनुसन्धान अगाडी बढाएको बताए । प्रहरीले दुबै महिलामाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा मुद्दा अगाडि बढाएको छ। उद्धार गरिएकी दुबै किशोरीलाई अभिभावकको जिम्मा लगाउने प्रहरीको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE