Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

९३ लाख नक्कली नोटसहित गुजराबाट ५ पक्राउ

 २७  भाद्र,बारा-जाली नोटको कारोबार गर्ने एउटा गिरोहका ५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

उनीहरुलाई शनिबार ९३ लाख नक्कली रुपैयाँसहित निजगढ र रौतहटको गुजरा नगरपालिकाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय कलैया लगिएको छ।

काठमाडौंबाट आएको व्युरोको टोलीले निजगढस्थित होटेल तारा इनबाट नक्कली नोटको कारोबारमा संलग्न ३ जनालाई पक्राउ गरेको थियो भने  थप २ जना रौतहटको गुजरा नगरपालिका वडा नम्बर-२ बाट शनिबार दिउँसो ३ बजे पक्राउ गरेको थियो।

गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले स्रोतको भनाइ छ । तर, जिल्ला प्रहरी कार्यालय बाराले घटनाको बारेमा थप बताउन चाहेको छैन ।

पक्राउ परेका सबै नेपाली नागरिक भएको बुझिएको छ । तारा इनमा पक्राउ परेका र गुजरामा रकमसहित नियन्त्रणमा लिइएका व्यक्तिहरुको एउटै ‘कनेक्शन’ भएको पनि बताइएको छ ।

होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा व्युरोको टोली काठमाडौंबाट सिधै निजगढ आइपुगेको थियो । जिल्ला प्रहरी कार्यालय कलैया र इलाका प्रहरी कार्यालयमासमेत कुनै जानकारी नदिइ नेपाल प्रहरीको ‘स्पेशल टास्क फोर्स’ को साथमा ठूलो संख्यामा आएको व्युरो टोलीले उच्च सर्तकताका साथ बिहान ११ बजे होटलमा ‘रेड’ हानेको थियो।

छापामारी गर्ने क्रममा व्युरोका सुरक्षाकर्मीले इलाका प्रहरी कार्यालयका प्रहरीलाई समेत होटलभित्र पस्न दिएको थिएन। सर्वसाधारणलाई होटलअगाडि सडकमा हिडडुल गर्न समेत रोक लगाएका थिए।

व्यूरोको टोलीले छापामारी थालेपछि मात्रै इलाका प्रहरी कार्यालय निजगढका प्रहरीले घटनाबारे जानकारी पाएका हुन्। ‘घटनाबारे शुरुमा केही कुरा पनि जानकारी थिएन, इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले भन्नुभयो, ‘गाउँले र सर्वसाधारणले आफूलाई फोन गरेर सोधखोज गर्न थालेपछि मात्रै थाहा भयो।

इलाका प्रहरी कार्यालयको टोली शनिबार दिउँसो १२ बजेपछि मात्रै होटलमा पुगेको थियो। होटलबाट नियन्त्रणमा लिएका ३ जनालाई साथमा लिएर गुजरातर्फ लागेको व्युरोको टोलीले रकमसहित थप २ जनालाई नियन्त्रणमा लिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE