Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

नेपाल र चीनबीचको सीमा विवादबारे अध्ययन गर्न बनेको टोली हिल्सातर्फ

२८ भदौ, काठमाडौँ – नेपाल र चीनबीचको सीमा विवादबारे अध्ययन गर्न बनेको टोली हिल्सातर्फ गएको छ। शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार हिल्सातर्फ गएको हो। सरकारले सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा तीन सदस्यीय टोली बनाएको थियो।

हुम्ला सदरमुकामबाट हिल्सा जाँदा भने टोलीमा सात जना रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो। ‘उहाँहरू यहाँ आएर हामीसँग समन्वय गर्नुभएको छ, यहाँबाट सीमानातर्फ जान सात जनाको टोली छ,’ उहाँले भन्नुभयो। अध्ययन टोली गाडीमा सीमानातर्फ गएको उहाँले बताउनुभयो ।

सहायक प्रजिअ राईका अनुसार गाडी पुग्ने ठाउँसम्म गइसकेपछि टोली पैदल हिँड्ने छ। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार हुम्ला सदरमुकामदेखि हिल्सा क्षेत्रमा जान डेढ दिन लाग्छ। अध्ययन टोली आज लिमी बास बस्ने उहाँले बताउनुभयो ।

‘मलाई फोन आएको थियो, म काठमाडौं भएको भएर जान पाइएन,’ अध्यक्ष तामाङले भन्नुभयो, ‘यताबाट गएको टोलीले सीमा स्तम्भ अध्ययन गर्नेछ, हाम्रो गाउँपालिकाको अन्य टोलीले सघाउला।’उहाँका अनुसार हिल्सा क्षेत्रका ७ देखि १२ नम्बर सम्मको स्तम्भहरूमा केही तलमाथि देखिएको छ। गत वर्षको असोजदेखि नेपाल र चीनबीच सीमा तलमाथि भएको पाइएको छ।

चीनको सीमानामा पर्ने नाम्खा गाउँपालिका–६ मा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले भवन बनाएदेखि विवाद देखिएको । गत वर्ष पनि सरकारी टोलीले उक्त क्षेत्रको अध्ययन गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE