Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

५० वर्ष पहिले हराएको “उमामहेश्वर”को मूर्ति अमेरिकाबाट नेपाल फर्कियो

९ भदौ, काठमाडौँ – पाटनको गाः हिति ९ढुंगेधारा० बाट हराएर अमेरिकाको डेन्भर आर्ट म्युजियममा पुगेको उमा महेश्वरको मूर्ति नेपाललाई हस्तान्तरण गरिएको छ । सन् १९७५ देखि म्युजियममा प्रर्दशन गरिएको उक्त मूर्ति नेपालको भन्ने थाहा पाएपछि म्युजियमले नेपालको दुतावासलाई हस्तान्तरण गरेको हो। नेपालतर्फका राजदूत युवराज खतिवडाले उक्त मूर्ति फिर्ता लिदै खुसी व्यक्त गर्नुभएकोहो । साथै सांस्कृतिक सम्पदाको संरक्षणमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन यसले सहयोग पुर्‍याएको उहाँले बताउनुभयो। १० औं शताब्दी पुरानो यो मूर्तिमा शिव, उनकी पत्नी पार्वती,सन्तान र अन्य भगवानका आकृति कुदिँएका छन्।

लैनसिंह बाङ्देलको किताब ‘स्टोलन इमेजेज अफ नेपाल’ र गाः हितिका स्थानियसँग कुराकानीको आधारमा उक्त मूर्तिलाई फिर्ता ल्याउन पहल गरिएको थियो । स्थानीयहरूका अनुसार यो मूर्ति करिब ५० वर्ष पहिले हराएको हो। केही महिनाअघि पनि अमेरिकाको डलास म्युजियले पाटनको १२ औं शताब्दी पुरानो लक्ष्मी नारायणको मूर्ति नेपाललाई फिर्ता दिएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE