Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

मन्त्री छान्न र महाधिवेशनको छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

आश्विन ६ काठमाडौं – प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ। निजी निवास बूढानिलकण्ठमा आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्नेछ।

सत्तारूढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो। परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको छ। परराष्ट्रमन्त्री कसलाई बनाउने र आसन्न १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न आज पदाधिकारी बैठक बस्न लागेको छ।

कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन। क्रियाशील विवाद मिलाए पनि नामावली सार्वजनिक नहुँदा असोज ५ का लागि तय गरेको वडा अधिवेशन प्रभावित भइसकेको छ।

साथै परराष्ट्र मन्त्री चयन गरेर सकेसम्म आजै सपथ गराउने पक्षमा प्रधानमन्त्री देउवा हुनुहुन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री बनाउनेबारे पार्टीमा गहन छलफल गरेपछि मात्रै निर्णय हुनुपर्ने बताइरहनुभएको छ।

देउवाले आफूनिकट बालकृष्ण खाणलाई गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइसक्नुभएको छ। परराष्ट्र मन्त्री पनि देउवाले आफू निकटका नेतालाई बनाउने भएपछि पार्टीभित्रैबाट विरोध भइरहेको छ।

कांग्रेसमा नारायण खड्काले परराष्ट्र विभाग हेर्नुहुने छ। खड्कालाई देउवाले परराष्ट्र मन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ। वरिष्ठ नेता पौडेलनिकट सुजाता कोइराला पनि परराष्ट्र मन्त्रीमा आकांक्षी हुनुहुन्छ।

पौडेल पक्षले पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन गर्न पनि महत्वपूर्ण मन्त्रालयमा मन्त्री चयन गर्दा व्यापक छलफल हुनुपर्ने बताइरहेको छ। यस्तै केन्द्रीय सदस्य मिनेन्द्र रिजालको नाम पनि परराष्ट्र मन्त्रीमा चर्चामा छ भने कानुन मन्त्री रहेका कार्कीलाई देउवाले परराष्ट्र मन्त्रीमा पठाउन सक्ने पनि चर्चा कांग्रेसवृत्तमा छ।

यसैबीच पौडेल पक्षका नेताहरूले पदाधिकारी बैठकअगाडि छुट्टै छलफल गर्ने तयारी गर्नुभएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE