अपहरणका योजनाकार राजेन्द्र पण्डित पक्राउ

६ आश्विन,नुवाकोट – चितवन मेडिकल कलेजका निर्देशक भक्तमान श्रेष्ठको अपहरणमा संलग्न गिरोहका एक जना सदस्य पक्राउ गरेका छन् । अपहरणका योजनाकार मध्येका एक भीमसेन पण्डितका काकाका छोरा राजेन्द्र पण्डित पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई नुवाकोटबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार राजेन्द्र अपहरितलाई राख्ने घरको व्यवस्थापन गर्ने कार्यमा संलग्न थिए ।
पुनरावेदन अदालत, हेटौंडा इजलासले उनलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमानाको सजाय सुनाएको थियो । तर उनी लुकिछिपी नेपाल र भारतका विभिन्न स्थानमा बस्दै आएका थिए । पछिल्लो समय नुवाकोटमा देखिएपछि प्रहरीले पक्राउ गरेको ब्यूरोका एक अधिकृतले बताए । अपहरणकारी रोहित पालिवाल र भीमसेनको समूहले ४ जेठ २०६७ मा अस्पतालबाट घर फर्किँदै गरेका तत्कालीन निर्देशक श्रेष्ठको अपहरण गरेको थियो । र, फिरौतीवापत तीन किलो ६ सय ग्राम सुन भारतको लखनउ नजिकैबाट असुलेको थियो ।
त्यसवेला सुन लिन रोहित नै गएका थिए । उनीहरुको समूहले त्यसवेला भीओआईपी कलबाइपासको प्रयोग गरेर परिवारसँग सम्पर्क गर्ने गरेको थियो । जसका कारण प्रहरीले फोन कहाँबाट आयो भन्ने थाहा पाउन सकेन । परिवारले अपहरणकारीलाई फिरौती रकम बुझायो। प्रकरणमा रोहितलाई अपहरणमा फिरौतीवापत लिइएको १ करोड ८ लाख ५० हजार रुपैयाँ बिगो र त्यसबराबरको जरिवाना र १५ वर्ष कैद सजाय सुनाएको थियो । पालिवाल भने पक्राउ गरिसकेका छन् ।
मोबाइल र सञ्चारका अन्य साधनबाट टाढा रहेका कारण प्रहरीले भिमसेनलाई पक्राउ गर्न सकेको छैन । उनको श्रीमतीसँग पनि डिभोर्स भइसकेको छ । वेलावेला उनी नुवाकोट आउने गरे पनि प्रहरीले समात्न सकेको छैन ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE