Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

बुद्ध एयरको जहाजमा एकपछि अर्को समस्या

१३ आश्विन, काठमाडौँ – आन्तरिक उडानमा अब्बल कम्पनीका रुपमा दरिएको बुद्ध एयर । तर पछिल्ला दिनमा एकपछि अर्को समस्याका कारण यो कम्पनीको साख गिर्दो छ । बिमान यात्रा सदैव संवदनशील मानिन्छ ।

यसमा आउने सानो समस्याले पनि ठूलो जोखिम पैदा गर्छ । बुद्ध एयरले यस्तै साना समस्याहरुलाई न्यूनीकरण गर्न नसक्दा यात्रुहरु यस कम्पनीसँग झस्किन थालेका छन् । बुद्ध एयरका दुईवटा जहाजमा हिजो सोमबार एकै दिन समस्या देखियो ।

विहान ७ बजे पोखराका लागि उडेको जहाजको ककपिटमा धुवाको गन्ध आएपछि पाइलटले फर्काएर काठमाडौं अवतरण गराए । यो विषयलाई बुद्ध एयरले ढाकछोप नै गर्न खोज्यो । तर, केही घण्टापछि विराटनगरका लागि उडेको बुद्धको अर्को  (एन-एएनआइ) जहाजमा आएको समस्या भने लुक्न सकेन ।

पाङ्ग्रा नखुलेपछि जहाज विराटनगरमा ल्याण्ड हुन नसकी २ घण्टासम्म इन्धन सक्न आकाशमा नै उडिरह्यो । अन्ततः काठमाडौंमा सुरक्षित अवतरण भयो । तर, त्यतिञ्जेल जहाजभित्र रहेका यात्रुहरुको होसहवास उडिसकेको थियो । उनीहरु भगवान पुकारिरहेका थिए । कोही यात्रु त ढोकाबाट तल हाम्फाल्नेसमेत चेष्टा गर्दै थिए ।

कुनै पनि विमानमा उडानको क्रममा गम्भीर समस्या आयो वा दुर्घटना भयो भने त्यसको कारण खोजी गर्न प्राविधिक छानविन गरिन्छ । यसमा कम्पनी आफै, नियामक निकायको सेफ्टी विभाग तथा मन्त्रालयले छानविन गर्छन् र समस्या पत्ता लगाउँछन् । त्यसकै आधारमा समस्या समाधान गरेपछि मात्रै उक्त जहाजलाई फेरि उडानमा पठाउने गरिन्छ ।

तर, समस्या देखिएको बुद्ध एयरको विमानलाई २४ घण्टाभित्रै उडान अनुमति दिइएको छ । के कारणले समस्या उत्पन्न भएको थियो भन्ने रिपोर्ट आएकै छैन । नियामक निकाय प्राधिकरणले भने आफ्नो प्राविधक टोलीले जहाजको जाँचबुझ गरेर उडाउन अनुमति दिएको बताएको छ।

पटक-पटक समस्या

बुद्ध एयरको विमानमा यसअघि पनि बारम्बार समस्या आउने गरेको छ । गन्तव्यमा पुगेर अवतरण गराउन नसकि फर्काउने क्रम दोहोरिइरहेको छ । गत साउन १० गते काठमाडौंबाट धनगढीका लागि उडेको जहाज काठमाडौंमै आकस्मिक अवतरण गरिएको थियो । जहाजको हाइड्रोलिकमा समस्या भएपछि काठमाडौंमा अवतरण गरिएका हो ।

यसैगरी, केहीं समयअघि काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्धको जहाज पनि नेपालगञ्जमा ल्याण्ड नगरी काठमाडौंमा ल्याएर अवतरण गरिएको थियो । २०७० सालअघि बुद्ध एयरका विमानमा पटक-पटक समस्या आउनुका साथै दुर्घटनासमेत भएका थिए । एयरलाइन्सहरुको रेटिङ गर्ने वेबसाइट ‘एयरलाइन्स रेटिङ डट कम’ ले पनि बुद्ध एयरलाई कमजोर रेटिङ दिएको थियो ।

प्राविधिक समस्या देखिएका जहाज धेरै पुराना

यस कम्पनीमा अहिले रहेका केही जहाज धेरै पुराना भएकाले पनि समस्या निस्किएको जानकारहरु बताउँछन् । बुद्ध एयरका समस्या आएका दुवै जहाज १४ वर्ष र २४ वर्ष पुराना हुन् । यी दुवै जहाज कम्पनीले सेकेन्ड ह्यान्डका रुपमा किनेका जहाज हुन्।

( एन-एएनआइ ) १४ वर्ष परानो जहाज हो भने पोखरा उडान भर्दा समस्या आएको जहाज २४ वर्ष पुरानो हो। विराटनगर उडेको ( एन-एएनआइ) जहाज बुद्धले भारतको किङफिसर कम्पनीबाट किनेर ल्याएको हो । यस्तै पोखराका लागि उडाइएको जहाज बुद्धले सन् २०१० मा भारतकै एयर डेकनबाट किनेको थियो।

जहाज कति पुरानोसम्म नेपालमा चलाउन पाइन्छ भन्ने मापदण्ड नभएपछि इन्जिनले राम्रो काम गरुन्जेलसम्म चल्न सक्ने बताउँनुहुन्छ त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका प्रवक्ता रेञ्जी शेर्पा। जहाजको इन्जिन, पंखा लगायतका पाट पूर्जाको आफ्नै आयु हुने र त्यो आयु सकिएपछि चलाउन नमिल्ने उहाँको भनाइ छ।

बुद्ध एयरका जहाजमा समय-समयमा समस्या आइरहे पनि कम्पनीले यसलाई टालटुल मात्रै गर्दै आएको छ । नियामक निकाय उड्डयन प्राधिकरणले पनि वास्ता गरेको छैन।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE