Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

विमलको कला,सुरिलो बनाउछ गला

२६ आश्विन,काठमाडौं –  नेपाली सांगीतिक क्षेत्रले व्यवसायिक रुपमा पछिल्लो समय निकै फड्को मार्न सफल भएको छ । व्यवसायिक रुपमा अगाडि बढ्दै गएको यो क्षेत्रलाई सूचना तथा प्रविधिमा आएको परिवर्तनले समेत निकै प्रभाव पारेको छ ।

नयाँ नयाँ गायक गायिकाको आगमन तथा प्रतिस्पर्धाले गीत संगीतलाई व्यवसायिक बनाउन मद्दत पुगे पनि चुनौती भने थपिँदै गएको छ । कलाकारको क्षमता अभिवृद्धि तथा गायिकीमा निखार ल्याउन अभ्यासको जरुरत पर्दछ ।

अभ्यास गर्दा कलाकारले आफ्नो सुर, नोट थाहा पाउनु पहिलो आवश्यकता हो । त्यसका लागि उसलाई हार्मोनियम, किवोर्डको आवश्यकता पर्दछ । संगीत अभ्यासको लागि किवोर्डभन्दा पनि हार्मोनियम अति राम्रो वाद्ययन्त्रका रुपमा लिइन्छ ।

कलाकारले पनि गीत संगीतको साधनामा हार्मोनियमको प्रयोग बढी नै गरेको पाइन्छ । यो वाद्ययन्त्र कलाकारको गायिकीलाई निखार्न र अभ्यासका लागि निकै उपयोगी सजिलो माध्यम पनि हो ।

सांगीतिक क्षेत्रमा हार्मोनियमको जति महत्व छ त्यतिनै यो किन्ने पसल भने नेपालमा सीमित रहेका छन् । त्यसमा पनि हार्मोनियम मर्मत गर्ने ठाउँ भने निकै कम छन्। हार्मोनियममा राजधानीको असनमा पहिलेदेखि एकछत्र अधिपत्य जमाएका हरेराम रुपनारायणको नाम भने गीत संगीतमा अभ्यास गर्नेका लागि नयाँ होइन ।

त्यस्तै, पछिल्लो समयमा हार्मोनियम मर्मत वा ट्युनिङ प्रणालीलाई डिजिटल प्रणालीमा लैजानसक्ने एक अर्को परिचित व्यक्ति विमल शाह हुन् । नेपालमा प्रयोग हुने हार्मोनियम विदेशबाटै ल्याइन्छ ।

त्यसमा पनि विशेष गरेर भारतबाट नेपालमा हार्मोनियम ल्याइने विमलले बताउनुभयो । नेपालमै यसको कम्पनी नभएको अवस्थामा विमल कम्पनी ब्राण्डको नाममा हार्मोनियम बजारमा ल्याउने श्रेय भने विमलले पाउनुभएको छ ।

सर्लाहीको ईश्वरपुरमा जन्मिनुभएका विमल १५ वर्षसम्म असनस्थित आफ्नै भिनाजुको हार्मोनी पसलमा काम गर्नुभयो । यही क्षेत्रमा लागेर जीविकोपार्जन गर्ने प्रेरणा जागेपछि विमलले ट्युनिङ र मर्मतसम्बन्धी स्पेसल कोर्स लिनुभयो । उहाँले भारतको कलकत्तामा गएर चार बर्ष यो विषय सिक्नुभयो ।

उहाँले उदितनारायण, दीपानारायण, सोनु निगम, कुमार सानु नेपाल आउँदा हारमोनीको ट्युनिङ गर्नुका साथै प्रसिद्ध भोजपुरी गायक तथा अभिनेता पवन सिंह, दिनेशलाल यादव, अवधेश प्रेमी लगायतका गायक गायिकालाई हार्मोनी ट्युनिङ गरेको सुनाउनुभयो ।

त्यस्तै, विमलले नेपालका प्रसिद्ध गायक–गायिका तथा संगीतकार शम्भुजीत बासकोटा, दीप श्रेष्ठ, कुन्ति मोक्तान, टिका भण्डारी, रामकृष्ण ढकाल, मनोजराज, सन्तोष श्रेष्ठ, शिव परियार, अन्जु पन्त, प्रमोद खरेल, विश्व नेपाली, राज सिग्देल, संगीत प्रशिक्षणका लागि नेपालमै सर्वाधिक ख्याति भएका चन्दनकुमार श्रेष्ठ, गुरुदेव कामत, चण्डीप्रसाद काफ्ले लगायतका संगीत गुरुहरुलाई हार्मोनीयम ट्युनिङ गरेर खुसी पार्न सफल भएको बाताउनुहुन्छ ।

हुनत मानिसलाई सफलता हासिल गर्न एउटै विषयमा दक्ष भए पुग्छ । उहाँ यसैको एउटा ज्वलन्त उदाहरण बन्न पुग्नुभएको छ। विमल हार्मोनियम डाक्टरका रुपमा परिचित हुनुहुन्छ ।

उहाँले हार्मोनियमको चिरफार, औषधि, उपचार हरेक किसिमका मर्मत उपचार विधि अपनाएर आफ्ना भगवानरुपी गीत संगीतका साधकको मन खुसी पारेको बताउँनुहुन्छ ।

उहाँ हार्मोनियम ट्युनरको रुपमा समेत चिनिनुभएको छ । हार्मोनियमका मर्मतकर्ताको रुपमा चिनिएका विमलले नयाँ तथा पुराना बाजाको बिक्रीसमेत गर्दै आउनुभएको छ। उहाँले सिनामंगलस्थित ताराहल चोकमा ‘श्री पशुपतिनाथ हार्मोनियम मर्मत तथा बिक्री केन्द्र’ सञ्चालन गदै आउनुभएको छ ।

उहाँ हरेक दिन हार्मोनी मर्मत तथा ट्युनिङ मिलाउनका लागि राजधानीका विभिन्न स्थानमा पुगिरहनुहुन्छ । हुनत अहिले कोरोना कहरले उहाँले यो कर्मलाई अहिले निकै सकस पारेको छ ।

सहज अवस्थामा उहाँ सजिलै बोकेर हिँड्न नसकिने बाजा भएकाले मर्मतका लागि कुँदिरहनुहुन्थ्यो । उहाँ होम सर्भिसका लागि रेकर्डिङ स्टुडियो, संगीत विद्यालय, मठ–मन्दिर, भजनमण्डली, निजी विद्यालय र घरघरमा गएर आफ्ना ग्राहकलाई सेवा दिएको बताउनुहुन्छ ।

विमल उपत्यकाभित्र मात्रै सीमित नरहेर उपत्यकाबाहिर पनि पुग्ने गर्नुभएको छ । उहाँले हरेक तीन महिनामा पोखरा, विराटनगर, नारायणगढ, दोलखाको चरिकोट, दाङको तुलसीपुर, धनगढी, सुर्खेतको वीरेन्द्रनगर, पर्वतको कुस्मा लगायतका ठाउँसम्म सेवा दिँदै आउनुभएको सुनाउनुभयो ।

त्यसबाहेक विभिन्न सांगीतिक कार्यक्रम, स्टेज सो, इभेन्ट आदिको तयारीका लागि पनि ट्युनिङ मास्टरका रुपमा विमल नै रोजाइमा पर्नुभएकोहुन्छ । उहाँको सेवा नेपालमा मात्र सीमित नरही अमेरिका, जापान, पाकिस्तान, हङकङ, भारत, दुबई, कतार, साउदी अरेबिया, बंगलादेश, अस्ट्रेलिया, भुटान, मलेसिया, सिंगापुर, चीन, कोरिया लगायतका देशमा समेत पुगेको छ ।

हार्मोनियम ट्युनिङ कति समयमा गर्नुपर्छ भन्ने जिज्ञासामा उनले भने, ‘हार्मोनी डेढ दुई वर्षमा मर्मत गरे पनि हुन्छ तर ट्युनिङ भने अवस्था हेरेर गरिरहनुपर्छ । ट्युनिङ भनेकै हार्मोनीको सुर हो । खासगरी साधना गर्ने व्यक्ति, क्लासिकल शैलीका गजल, भजन र राग गाउनेले हार्मोनीको सुर ठीक छ कि छैन भन्ने कुरामा सधैं सचेत रहनुपर्दछ ।’

नेपालमा पछिललो समय सांगीतिक क्षेत्र व्यवसायिक बन्दै गएको सुनाउँदै विमलले भन्नुभयो, ‘नेपाली म्युजिकमा पनि भविष्य राम्रो हुँदै गएको र यसैका कारण आफ्नो पेशा भरपर्दो र सुरक्षित बन्दै गइरहेको छ ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE