त्यो नेकपा एमाले होइन, ओली प्राइभेट लिमिटेड हो : गगन थापा
१७ कात्तिक, काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न तीन तहकै निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पराजित गर्ने दावी गरेका छन् । उनले पाँच वर्षका लागि शासन सञ्चालन गर्न जनमत पाएको एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए ।
कांग्रेसको भक्तपुर सूर्यविनायक नगरपालिका(४ ले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा नेता थापाले एमालेलाई केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनमा बढार्ने दावी गरे ।
‘पाँच वर्ष आरामले सरकार सञ्चालन गर्नुपर्नेमा राज्य अस्तव्यस्त बनाउने काम भयो । त्यसकारण एमालेले दण्ड पाउनैपर्छ,’ उनले भने, ‘एमालेलाई माथिदेखि तलसम्म कुचो लगाएर बढार्ने हो । यसका लागि कांग्रेसका सबै नेता कार्यकर्ताहरुले एउटा संकल्प गर्नुपर्नेछ ।’
उनले तीन वर्षमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा भद्रगोल अवस्था सिर्जना गरेको जीकिर गरे । सर्वोच्च अदालतमा देखिएको विवादको कारक पनि ओली सरकार भएको नेता थापाको दावी छ ।
‘आज अदालतमा जुन खालको परिस्थिति छ, त्यसमा पनि ओली नै दोषी हुन् । अदालतमा सेटिङ गर्ने ओलीको कार्यशैलीको परिणाम हो,’ उनले भने, ‘अख्तियारमा आफ्ना मान्छेहरु भर्ती गर्ने काम भयो । एमाले सरकारले राज्यका सबै ठाउँमा पछिल्ला तीन वर्षमा भद्रगोल अवस्था सिर्जना गरिदिएको छ ।’
उनले एमाले पार्टी नभई ओली कम्पनी लिमिटेड भएको आरोप लगाए । ‘फरक मत राख्ने भीम रावल र घनश्याम भुसाल छन् । विचरा भिम रावल देख्दा माया लागेर हुन्छ । फरक मत राख्नेलाई ओलीले कुन दिन पार्टीबाट निकाल्छन,’ उनले भने, ‘त्यो नेकपा एमाले होइन, ओली प्राइभेट लिमिटेड हो । ओली प्राइभेट लिमिटेडले दण्ड पाउनैपर्छ ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE