Date
शुक्र, माघ २०, २०७९
Fri, February 3, 2023

राष्ट्रपति चयनका लागि पुसभित्रै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन हुनुभएको थियो । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ ।

सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएका व्यक्ति राष्ट्रपतिका लागि उम्मेदवार हुन योग्य हुनेछन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था समेत गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE