विश्व जेष्ठ नागरिक दिवसको अवसरमा फोटो प्रदर्शनी

१४ असोज, काठमाडौँ– राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जाने बुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे । उहाँले भन्नुभयो, ‘ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि जाने बुझे जतिकाम गरिरहेको छ । अझै पुगेको छैन । त्यसको लागि तपाईहरुसँग केही उपाय छ भने लिएर आउनुस्, त्यसलाई कार्यान्वयन गर्ने छौं ।’
त्यस्तै एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गौतमले आजको कार्यक्रम निक्कै नै प्रभावकारी भएको बताउनुभयो । ‘ज्येष्ठ नागरिकले केहि गर्न सक्दैनन् भन्नेलाई हामी पनि अझै केहि सक्रिय छौँ भन्ने सन्देश आजको फोटो प्रदर्शनीले दिएको छ, यस्ता खालका कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिँदै जाने छौं ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा राखिएका तस्वीरहरुले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म राखिएको फोटो प्रदर्शनीमा देशभरका ४० फोटो पत्रकारले खिचेका ६२ ओटा फोटो राखिएका थिए । राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी गर्दै आएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE