समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग तीन गुणासम्म बढी भाडा असुली
८ असार, काठमाडौँ – महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । समस्या परेर यात्रा गर्नैपर्ने बाध्यतामा रहेका यात्रु व्यवसायीको मनोमानी भाडाले थप मर्कामा परेका छन् ।
कैलालीको टीकापुर घर भई हाल काठमाडौंको लैनचौरमा बस्दै आएका सुरोज रावल कोरोनाका कारण बुवा बितेपछि घर जानैपर्ने बाध्यतामा थिए । घर जाने गाडी खोज्दै गोंगबु बसपार्क बाहिर पुग्दा कैलाली जान तयारी अवस्थामा रहेको एउटा माइक्रो बस देखे । त्यसमै जाने निर्णय गरेका उनीसँग गाडीका स्टाफले ५ हजार रुपैयाँ भाडा मागे । घर जानैपर्ने बाध्यतामा रहेकाले उनले भनेजति भाडा दिए । ‘टिकट पनि दिइएन, प्रहरीले भाडाको विषयमा सोधेमा १५ सय रुपैयाँ भाडा तिरेको भन्न सिकाइयो,’ उनले भने, ‘बाध्यता परेकाले मैले गाडीवालाले भने बमोजिम गरेँ, बसमा चढेका जति अरूले पनि त्यही गरेका रहेछन् ।’ सामान्य अवस्थामा काठमाडौंदेखि टीकापुरसम्मको भाडा १५ सय देखि २ हजार रुपैयाँ पर्छ ।
यस्तै समस्यामा परेर आइतवार सुर्खेतबाट काठमाडौं आइपुगेका नरेश शाहीले पनि आफूले अरू बेलाको भन्दा ३ हजार रुपैयाँ बढी भाडा तिरेको सुनाए । यसअघि सामान्य अवस्थामा सुर्खेतदेखि काठमाडौंसम्मको भाडा २ हजार रुपैयाँ छ ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE