विमान दुर्घटनाः १८ जनाको मृत्यु, एक विमानचालकको उपचार हुँदैु
९ साउन, काठमाडौ-सौर्य एअरलाइन्सको एउटा विमान बुधवार बिहान त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
उक्त विमानमा चालकदलका दुई सदस्य र सो विमानसेवा कम्पनीका १७ प्राविधिक कर्मचारी सवार भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
एक विमानचालकलाई सकुशल उद्धार गरिएको र उनलाई उपचारका लागि अस्पताल लगिएको नेपाल प्रहरी तथा नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले पुष्टि गरेका छन्।
“सौर्य एअरलाइन्सको CRJ7 (Reg 9NAME) जहाज काठमाण्डौँबाट स्थानीय समयानुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको थियो । तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव सङ्कलन गरिएको तथा एक घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको प्रधिकारणले विज्ञप्तिमा भनेको छ ।
प्राधिकरणका अनुसार सो विमान एनुअल मेन्टेनन्स प्रोग्र्यामका क्रममा थियो। सो विमान त्रिभुवन विमानस्थलको उत्तरी भेगमा खसेको हो।
यसअघि सौर्य एअरलाइन्सका एक अधिकारीले सो विमानमा सर्वसाधारण यात्रु नचढेको बताएका थिए। उनका अनुसार सो विमान सी–चेक अर्थात् परीक्षणका क्रममा थियो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार घाइते विमानचालकलाई उद्धार गरी उपचारका लागि नजिकै रहेको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल लगिएको छ। केही शव महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पठाइसकिएको प्रहरीले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE