राजविराजमा शंकास्पद मृत्यु: अस्पतालका कर्मचारीको शव झ्यालमा बाँधिएको अवस्थामा फेला
रवि ऋषि
राजविराज, मंसिर २३ – मधेश प्रदेशको सप्तरी जिल्ला राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनमा एक कर्मचारी मृत शंकास्पद अवस्थामा फेला परेको छ।
गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत करिब ४५ वर्षीय सुधीर कुमार झा मृत फेला परेको प्रहरीले पुष्टि गरेको छ। सप्तरी प्रहरीका अनुसार मृतक झाको शव झ्यालको रडमा डोरीले बाँधिएको अवस्थामा भेटिएको छ, तर उनका दुवै खुट्टा भुइँमा टेकेको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी प्रहरी नायब उपरिक्षक (डिएसपी)जितेन्द्र कुमार बस्नेतले घटनाबारे जानकारी दिँदै झाको मृत्युको कारणबारे शंका उब्जिएको बताए। “यो घटनाको प्रारम्भिक अवस्थामै हत्या वा आत्महत्याबारे स्पष्ट भन्न सकिने अवस्था छैन,” उनले भने।
शव फेला परे पश्चातका प्रत्यक्षदर्शीहरूले भने कसैले हत्या गरेर शव झ्यालमा बाँधेको हुनसक्ने आशंका गरेका छन्। शव बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढ़ाइएको छ।
यस घटनाले स्थानीयमा त्रास उत्पन्न भएको छ भने मृतकका परिवारजनले न्यायको माग गरेका छन्। शव परीक्षणका लागि अस्पताल पठाइएको र घटनाको गहिरो अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रहरीलाई शीघ्र अनुसन्धानका लागि दबाब दिन स्थानीयले माग गरेका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE