गढीमाई मेलाबाट फर्कंदै गर्दा स्कर्पियो दुर्घटना: ८ को मृत्यु, ४ घाइते
सिरहा, २५ मंसिर।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका-४, धन्सारपुल नजिक मंगलबार बिहान भएको स्कर्पियो दुर्घटनामा चालकसहित ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई बालबालिकासहित चार जना घाइते भएका छन्।
बाराको गढीमाई मेला दर्शन गरी सिरहाको अर्जनमा फर्किदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल खसेर रुखमा ठोक्किएपछि दुर्घटना भएको हो।
मृतकमा अर्जनमा गाउँपालिका-३ का ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फूलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा, र अर्जनमा-५ बलुवाटोलका ४० वर्षीय चालक श्रीकुमार यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी राजकुमार राईका अनुसार, दुर्घटनापछि उद्धार गरी घाइतेलाई अस्पताल लगिएको थियो। अस्पतालले आठ जनालाई मृत घोषणा गरेको छ भने घाइतेहरूलाई चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका एकजनालाई वीरगन्ज रेफर गरिएको छ।
मृतकका शव पोष्टमार्टमका लागि चपुरस्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण स्कर्पियो अनियन्त्रित हुनु रहेको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी राईले जानकारी दिएका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE