Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एनआईसी एशिया बैंकको धोकाधडी: सहनी परिवारको जग्गा कब्जा गर्न जबरजस्ती षड्यन्त्रको खुलासा

सिरहा, पुस १ गते। धनुषाको गणेशमान चारनाथ नगरपालिकाका व्यवसायी दिनेश सहनीले एनआईसी एशिया बैंकको विरुद्ध गम्भीर आरोप लगाएका छन्। सहनीले बैंकको फिर्ता गरिसकेको कर्जा रकमको बाबजुद बैंकले उनको धितोमा रहेको जग्गा कब्जा गर्ने षड्यन्त्र गरिरहेको दाबी गरेका छन्।

ऋण प्रकरणको विवरण

दिनेश सहनीले सन् २०१८ मा सिरहा स्थित एनआईसी एशिया बैंक शाखाबाट १४ प्रतिशतको ब्याज दरले ३० लाख रुपैयाँको दीर्घकालीन कर्जा लिएका थिए। १० वर्षे योजना अन्तर्गत १२० किस्ता तिर्नुपर्ने उक्त कर्जाको मासिक किस्ता ४६हजार ६०० सय रुपैयाँ हुने गरी किस्ता तोकिएको थियो। सहनीले आफ्नो कारोबार र किस्ताको व्यवस्थापन गरिरहेका भए पनि बैंकले अनावश्यक दबाब र लापरवाही गरेको उनको भनाइ छ।

कर्जा तिर्दा पनि जग्गा निलामीको पत्र

दिनेश सहनीका अनुसार, उनले निर्धारित समयभन्दा अगावै कर्जाको अधिकांश रकम फिर्ता गरिसकेका छन्। हाल १८ लाख रुपैयाँ बाँकी रहेको कर्जाको रकम पनि बैंकले समयमै बुझ्न इन्कार गरेको छ। यद्यपि, बैंकले २०७८ साल कार्तिक १ गते सहनीको जग्गा निलामी गर्ने उद्देश्यले मूल्यांकन गर्न पत्र पठाएको र सिरहा शाखा प्रमुख संतोष घिमिरे र धनुषाको सबैला नगरपालिका स्थित शाखा प्रमुख अजय सिंह सहितको टोलीले धितो जग्गा मूल्यांकन प्रक्रिया अघि बढाउन पीडित दिनेश सहनीको घर पुगेका थिए ।

पसलमा भएको आगलागी र बैंकको गैरजिम्मेवारीपन

सहनीले आफ्नो पसलमा २०७८ साल कार्तिक १९ गते भएको भीषण आगलागीमा करिब ७० लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको बताए। बैंकले कर्जा स्वीकृत गर्दा व्यवसायको बीमा गराएको थियो, जसअन्तर्गत सहनीलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको थियो। तर, बैंकले उक्त रकममध्ये केवल १२ लाख ५० हजार तीन वर्ष लगाएर मात्र उपलब्ध गराएको र बाँकी २ लाख ५० हजार अझै भुक्तानी नगरेको गुनासो गरेका छन्।

पीडितको पीडा र न्यायको खोजी

दिनेश सहनीले भने, “मैले बाँकी कर्जा रकम चुक्ता गर्न चार वर्ष समय रहेकै अवस्थामा बैंकले मेरो जग्गा कब्जा गर्न खोजेको छ। यो सरासर अन्याय हो। बैंकको लापरवाहीले मेरो व्यापारमा ठूलो असर पारेको छ। आगलागीबाट भएको क्षतिको पनि पूरै क्षतिपूर्ति मैले पाउन सकेको छैन।” तीर्नु पर्ने बाँकी रकमको एकमुष्ट १८ लाख आफु तीरे पनि आफु बिरुद्ध बैंक तथा बैंकको कर्मचारी र सिरहा शाखाका प्रबंधक संतोष घिमिरेले अन्यय गर्न खोजेको आरोप छ।

बैंकको व्यवहारले उठाएको प्रश्न

सहनीले एनआईसी एशिया बैंकसँग आफ्नो सबै कारोबार रोक्न चाहेको भए पनि बैंकको यस प्रकारको गैरजिम्मेवारीपूर्ण कार्यले थप पीडा दिएको उल्लेख गरे। उनले समयमै कर्जा चुक्ता गर्न बैंक उपर रहेको क्षतिपूर्ति बापतको रकम बाटै किस्ता मिन्हा गर्न आग्रह गरे पनि बैंकले नमानेको र आफ्नो व्यवसायलाई तहसनहस पार्न षड्यन्त्रपूर्वक कदम उठाएको आरोप लगाएका छन्।

न्यायको माग र सरकारी निकायको ध्यानाकर्षण

सहनीले बैंकको लापरवाही र धितो कब्जा गर्ने अस्वाभाविक प्रक्रिया विरुद्ध सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै न्याय दिलाउन माग गरेका छन्। उनले आफ्नो परिवारको सम्पत्ति सुरक्षित राख्न र व्यवसायिक क्षतिपूर्ति दिलाउन कानूनी सहारा लिन बाध्य हुने बताएका छन्।

यो प्रकरणले एनआईसी एशिया बैंकजस्ता ठूला वित्तीय संस्थाहरूको व्यवहारप्रति गम्भीर प्रश्न उठाएको छ। ग्राहकको विश्वास कायम राख्न र कानूनी प्रक्रिया अनुकूल निष्पक्ष व्यवहार गर्न बैंक जिम्मेवार बन्नु पर्ने आवश्यकता औंल्याएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE