स्थानीय तह कर्मचारीको समस्यामा मधेश प्रदेश सरकार गम्भीर, प्रदर्शन नगर्न मुख्यमन्त्री सिंहको आग्रह
दिनेश सहनी
जनकपुरधाम, पुस १८:
मधेश प्रदेश सरकारले स्थानीय तहका कर्मचारीहरूको समस्या समाधान गर्न गम्भीर गृहकार्य गरिरहेको भन्दै कुनै किसिमको प्रदर्शन नगर्न आग्रह गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले कर्मचारीका गुनासाहरूप्रति सरकार गम्भीर रहेको र समाधानका लागि प्रभावकारी प्रयास जारी रहेको बताएका छन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जारी गरेको विज्ञप्तिमा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनका क्रममा देखा परेका समस्या समाधान गर्न प्रदेश सरकारले गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको संयोजकत्वमा एक समिति गठन गरेको जनाइएको छ।

उक्त समितिमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, र वन तथा वातावरण मन्त्री त्रिभुवन साह सदस्य छन्। समितिले स्थानीय तहमा कार्यरत कर्मचारीहरूको पदस्थापना, स्तरवृद्धि, र ऐनका अस्पष्ट प्रावधानहरूको सुधारका उपायहरूको अध्ययन गरिरहेको छ।
मुख्यमन्त्री सिंहले कर्मचारीहरूले ऐनमा प्रावधानको अभावले केही कर्मचारीको पदोन्नति र स्तरवृद्धिमा समस्या भएको गुनासालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। उनले समितिबाट प्राप्त सुझावका आधारमा यथोचित सुधार कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रदेश सरकारले गृहकार्य पूर्ण नभएसम्म कुनै प्रदर्शन नगर्न र समस्याहरू समाधान गर्न सहकार्य गर्न कर्मचारीहरूलाई आह्वान गरेको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE