सिरहाको माड़रमा ब्राह्मण–मण्डलको अन्तरजातीय विवाह: जातीय र दहेज प्रथाको जरो हल्लाउने ऐतिहासिक कदम
सिरहा, बैशाख २९ गते – सामाजिक सुधारको अभियान अब केवल भाषणमा सीमित छैन, यथार्थ जीवनमै लागू हुँदैछ भन्ने उदाहरण बनेका छन् सिरहा नगरपालिका स्थित, माड़र निवासी अवधेश कुमार झा र बन्दना कुमारी मण्डल। विभिन्न जातीय बेडाचाललाई चुनौती दिंदै उनीहरूले बैशाख २८ गते ‘पण्डा बाबा विवाह भवन’ मा भव्य र सुसंस्कृत विधिबाट दहेज मुक्त अन्तरजातीय विवाह सम्पन्न गरेका हुन्।

विवाहमा सामाजिक परम्पराको सम्मान, तर भेदभावको अस्वीकार
विवाह समारोहमा परम्परागत मैथिली संस्कार, वैदिक मन्त्र र स्थानीय संस्कृति झल्किने तवरबाट विवाह सम्पन्न गरिएको थियो। तर, यो विवाहमा परम्परालाई सम्मान दिइए पनि, जातीय भेदभाव र दहेज प्रथालाई स्पष्ट अस्वीकार गरिएको थियो। विवाहमा कुनै पनि किसिमको दहेज, गहना वा सवारी साधनको लेनदेन गरिएको थिएन।

एक दशकअघिको संकल्पलाई व्यवहारमा उतार्दै अवधेश झा
झण्डै १० वर्षअघि अशधेश झा ‘ओरेक नेपाल’ नामक सामाजिक संस्था मार्फत बाल विवाह र दहेजविरुद्ध चलाइएको जन सचेतना मुलक कार्यक्रममा सक्रिय थिए। त्यही बेला उनले सबैका अगाडि दहेज बिना विवाह गर्ने संकल्प गरेका थिए। उनको त्यो प्रतिज्ञा केवल भनाईमा सीमित भएन, अहिले व्यवहारमा परिणत भएको छ। यसले युवाहरूमाझ दिगो सोच र प्रतिबद्धताको महत्व देखाएको छ।

जातीय विभेदलाई तोड्ने नयाँ पुस्ता
तराई–मधेश क्षेत्रमा अझै पनि मण्डल जस्ता तथाकथित मध्यमवर्गीय तथा दलित समुदायहरूलाई माथिल्लो जातका भनिने समुदायसँग वैवाहिक सम्बन्धमा आउन कठिनाइ हुन्छ। तर अवधेश र बन्दनाले जातीय सिमानालाई मेटाउँदै प्रेम र समानताको बलियो उदाहरण पेश गरेका छन्। उनीहरूको यो कदमले समाजमा अन्तरजातीय विवाहप्रति सकारात्मक सोच बनाउने आशा गरिएको छ।

यसअघि पनि भएको थियो ऐतिहासिक विवाह

यसै महिना बैशाख ५ गते, त्यही गाउँका एक यादव समुदायका युवक र मण्डल समुदायकी युवतीले पनि माड़रकै रामा होटलबाट समाजलाई चकित पार्ने तर उत्साहजनक अन्तरजातीय विवाह गरेका थिए। लगातार यस्ता घटना हुनु समाज रूपान्तरणको संकेत हो।

सामाजिक प्रभाव र भविष्यको सम्भावना

यस्ता विवाहहरूले युवालाई जातीय संकीर्णता र परम्परागत सोचबाट बाहिर आउन प्रेरित गर्छ। समाजका अगुवाहरू, शिक्षकहरू, तथा स्थानीय प्रतिनिधिहरूले यस्तो कार्यको स्वागत गर्दै त्यसलाई सामाजिक रूपान्तरणको संकेत मानेका छन्।
अन्ततः, अवधेश झा र बन्दना मण्डलको प्रेमले न केवल दुई आत्मालाई एक बनाएको छ, तर समाजलाई पनि नजिक ल्याउने प्रयास गरेको छ। जात, धर्म, सम्प्रदायभन्दा माथि उठेर सम्बन्ध गाँस्न सकिन्छ भन्ने सन्देश आजको पुस्ताका लागि प्रेरणादायक बनेको छ।
सहभागी सबैले आपसी सहमति र सम्मानका साथ वर–वधूलाई आशीर्वाद दिएका थिए।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE