Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

खुकुरी प्रहारबाट घाइते भएका रुकुमका २ जनालाई हेलिकप्टरमार्फत पुर्‍याईयो अस्पताल

१४ आश्विन, रुकुम – रुकुम पश्चिममा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन्। घाइते दुबैलाई बिहीबार बिहान एउटै हेलिकप्टरमा राखेर उपचारका लागि सुर्खेत पुर्‍याएको छ। बुधबार दिउँसो चार बजेतिर आठबिसकोट नगरपालिका वडा नं.३ खदी रानीवनका २३ वर्षीय कर्णबहादुर बोहोरामाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते तुल्याएको थियो।

करिब तीन घन्टा पछि बेलुका सात बजेतिर सोही ठाउँको सल्लेरीका ६२ वर्षीय लक्षे कामीमाथि अर्को एक समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो। खुकुरी प्रहारबाट कामीको दुबै घुँडा र बायाँ पाखुरामा गहिरो घाउ लागेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीका अनुसार खुकुरी प्रहारबाट बोहोराको अनुहारलगायत बायाँ हत्केलामा गहिरो चोट लागेको छ।

शाहीले बोहोरोमाथि स्थानीय २४ वर्षीय गोपाल बिक, २१ वर्षीय बिष्णु कामी, २३ वर्षीय कृष्ण बिक र १८ वर्षीय महेन्द्र बिक लगायतले आक्रमण जानकारी दिनुभयो। त्यस्तै कामीमाथि खदीका २३ वर्षीय नेत्र बोहोरा, २२ वर्षीय बिरे भण्डारी र २२ वर्षकै शान्ते भण्डारीले आक्रमण गरेको शाहीले जानकारी दिनुभयो।

घटनामा संलग्न दुबै पक्षका आरोपी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो। ‘सुरूमा पुरानो रिसइबीका कारण बोहोरोमाथि एक समूहले आक्रमण गरेको देखिन्छ,’ शाहीले भन्नुभयो, ‘त्यसपछि आक्रोशित बोहोरा पक्षले फेरि कामीमाथि खुकुरी हानेको अवस्था छ।’

घटनापछि बुधबार बेलुका नै घाइतेलाई थप उपचारका लागि बाहिरी जिल्ला लैजान हेलिकप्टर मागिएको भए पनि मौसमका कारण अवतरण हुन नसकेपछि उद्धार असम्भव भएको थियो। बिहीबार बिहान करिब पौने आठ बजेतिर हेलिकोप्टर आएपछि दुबै घाइतेलाई एउटै हेलिकप्टरमा राखेर उपचारका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत लगिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो।

‘खदीमा तली गाउँ र माथि गाउँ भन्ने छ। तली गाउँमा बोहोरा समुदायको बाहुल्यता छ र माथि गाउँमा कामी समुदायको,’ शाहीले भन्नुभयो, ‘उनीहरूको बीचमा सधैँ यस्तै विवाद  र लफडा भइरहन्छ। एकले अर्कौलाई भेटे हानाहान चलिरहन्छ।’ यी दुई गाउँका मानिसले अर्को गाउँकालाई एक्लै फेला पार्ना साथ आक्रमण गर्ने गरेको शाहीले जानकारी दिनुभयो।।

‘यी दुई गाउँबीचको विवादको चुरो हेर्दा धेरै पुरानो देखिन्छ। त्यो पानीको मुहानको विषयसम्म पुग्छ,’ प्रहरी निरीक्षक शाहीले भन्नुभयो। घटनास्थल अस्थायी प्रहरी पोष्ट स्यालाखादीबाट ३० मिनेट पैदल दूरीमा पर्ने र घटनामा संलग्नको खोजीको लागि प्रहरी सहायक निरीक्षक सनत न्यौपानेको कमाण्डमा बिहीबार बिहान चार जनाको टोली खटाइएको शाहीले जानकारी दिनुभयो।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE