Date
सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026

सिरहामा घुमुवा आतंक: सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी, सई गौतम नेतृत्वको गिरोहको पर्दाफास

✍️ दिनेश सहनी
२५ असार,जनकपुरधाम

सिरहाको सीमा क्षेत्रमा सक्रिय सशस्त्र प्रहरी बल नेपालका घुमुवा टोलीहरू तस्करीको मुख्य संरक्षकको रूपमा उभिएको खुलासा भएको छ। विशेष गरी सीमा सुरक्षा सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाका सशस्त्र प्रहरी सई (सशस्त्र प्रहरी नायब निरीक्षक) विष्णु प्रसाद गौतमको नेतृत्वमा कार्यरत घुमुवा टोलीमाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। उनीहरु जिल्ला नामुद तस्करहरू सँगको मिलोमतोमा व्यापक तस्करी गराउँदै गरेको तथ्य फेला परेको छ। हालै जिल्ला भन्सार कार्यालयको गस्ती टोलीले ठूलो परिमाणमा झण्डै १६ लाखको अबैध तस्करीका कपड़ा सहित दुई जनालाई पक्राउ गरेर पुष्टि गरी दिएको छ।

सई गौतमको ‘घुमुवा गिरोह’ र तस्करबीचको सेटिङ
सई गौतमको नेतृत्वमा रहेका कमल दहाल र गणेश कार्की जस्ता घुमुवा नामधारी व्यक्ति वर्षौंदेखि तस्करहरू सँगको ‘समन्वय’ र ‘सुरक्षा व्यवस्था’ मिलाएर बदनाम भइरहेका छन्। स्रोतका अनुसार उनीहरू तस्करबाट नियमित आर्थिक लाभ लिने, सूचना चुहाउने, तस्करीको बाटो खुल्ला गराउने जस्ता गतिविधिमा संलग्न छन्।


भन्सार कार्यालयले गर्‍यो पर्दाफास
यिनै घुमुवा टोलीको सेटिङमा हुँदै आएको तस्करीमाथि हालै सिरहा जिल्ला भन्सार कार्यालय माडरले साहसिक कदम चालेको छ। गएको असार ११ गते राति करीब १२ बजेको समयमा भन्सार कार्यालयको टोलीले ठूलो परिमाणमा भन्सार छली गरेर ल्याइएको अवैध मालसमान नियन्त्रणमा लिएको थियो। यस कारबाहीले तस्करीमा संलग्न ‘सुरक्षाकर्मी र घुमुवाहरुको गठजोड’को पर्दाफास गरेको छ। तस्करीका अवैध समान सहित पक्राउ परेका ब्यक्तिहरुको स्वीकार्य बयान अनुसार पक्राउ परेका अवैध तस्करीका समान राकेश यादव भन्ने नामुद तस्करको रहेको छ। घुमुवाहरुको कमाण्डर सई गौतम सँग नङ्ग मासुको सम्बन्ध रहेको खुल्न आएको हो।

एसपी नरेश भण्डारीको मौनता र संरक्षण
यस घुमुवा आतंकको पछाडि गण हेडक्वार्टर सिरहा प्रमुख एसपी नरेश भण्डारीको मौनता र संरक्षण रहेको आरोप स्थानीयले लगाएका छन्। सई गौतम एसपी भण्डारीका ‘प्रिय पात्र’ मानिने भएकाले उनीहरूका क्रियाकलापमाथि बारम्बार आँखा चिम्लिएको जनाइएको छ। बचाउमा बक्तव्य बाजी दिंदै आएका एसपी भण्डारीले “सादा पोशाकमा घुमुवा हुन्छ बर्दीमा होइन ” उनको यो भनाई आफ्नो प्रिय पात्र रहेको पुष्टि हुन्छ।
जनस्तरबाट माग: छानबिन र कारबाही होस्
स्थानीय सामाजिक अभियन्ता र सीमावर्ती बासिन्दाले सशस्त्र प्रहरी बलका केही अधिकृत र घुमुवाहरूको नाममा भइरहेको तस्करी गठबन्धन तत्काल अन्त्य हुनुपर्ने माग गरेका छन्।
सीमावर्ती सुरक्षामा खटिने सशस्त्र प्रहरी बलभित्रैको गिरोहजन्य संरचना, घुमुवा प्रणालीको दुरुपयोग, र उच्च तहको मिलोमतोको परिदृश्यले राज्यको नीति, सुरक्षा रणनीति र जनविश्वासमाथि ठूलो प्रहार पुर्‍याएको छ। यो प्रकरण तत्काल छानबिनमा ल्याई दोषीमाथि कानुनी कारबाही नगरे राज्यको सीमा नियन्त्रण क्षमता माथि नै गम्भीर प्रश्न उठ्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE