बुवाको मुख हेर्ने दिन : स्मृतिमा मात्र बाँचेका मेरा बुवा !
दुर्गा भण्डारी
बुबा अर्थात बाबा । सन्तानका लागि यो शब्द कति प्रिय र मूल्यवान् छ ? शब्दमा व्याख्या गर्न नै नसकिने शब्द । मायाको प्रतीक, नायक, त्यागको मूर्तिको रुपमा लिइने बुबा केबल एउटा शब्द मात्र होइन, यो सत्य हो अनि यो एउटा शक्ति पनि हो । योसँग हरेक सन्तानको भावना र भरोसा गहिरो रुपमा जोडिएको हुन्छ । ठेस् लाग्दा पनि हामी अइया बाबा भन्छौं, यो शब्द भित्रबाट अनायस निस्किन्छ । मानौं यो एउटा शक्ति हो, जसबाट हामीलाई गजबको प्रेरणा प्राप्त हुन्छ अनि अगाडि बढ्ने साहस मिल्छ ।
बुबा, बाबा, ड्याडी, पिता, पापा, फादर । हामी अनेक शब्दले उनलाई सम्बोधन गछौं । हरेक सन्तानको पहिलो हिरो हो बुबा । चाहे छोरा होस् वा छोरी सबैका लागि बाबा प्यारो र पुजनीय हुन्छ । उसले आफ्ना सन्तानलाई माया र संरक्षण मात्र होइन, संघर्ष गर्न पनि सिकाउँछ । कति दुःख, पीडा लुकाएर अनि अनेक अपजस रअपमान पनि चुपचाप सहेर उसले सन्तानलाई खुसी बाँड्ने प्रयास गरिरहेको हुन्छ ।
संसारमा जन्म लिनु ठूलो कुरा होइन । जन्मेर बाँच्नुको अर्थ के हो ? आफ्ना सन्तानलाई हरेक बुवाले यही सिकाउने प्रयत्न गर्छन् । बाबा आमाको असल साथी मात्र होइन, सृष्टिको पहरेदार पनि हो । तर, सृष्टिको पहरेदार मेरो जीवनको पहिलो नायक, मेरो घरको पिल्लर गुमाएको वर्षौँ बितेछ । वितेका वर्षहरुमा कुनै क्षण छैन, बुबालाई नसम्झिएको होस्, तर वर्षेनी आउने यो कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन मनको भारीले आफैलाई थिचेझैँ हुने गर्छ ।
बिगत २२ वर्षदेखि मेरो लागि कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन कुनै उत्सवको दिन होइन, बरु मनभरी पीडा बोकेर बिताउने दिन बनेको छ। अरु दिदीबहिनीहरू दर खाई रमाइरहेका, आफ्नो बुवासँग भेटी टिका लगाइरहेका तस्वीहरु देख्दा मन भक्कानिन्छ। म भने मेरो जीवनको आधार, हाम्रो घरको स्तम्भ, आमाको जीवनसाथी—मेरो बुवा बिना नै यो दिन बिताइरहेकी छु।
मैले बुवालाई गुमाउँदा म उमेरले धेरै सानी थिएँ। त्यो उमेरमा न यो पर्वको महत्व थाहा थियो, न त बुवाको मृत्युले जीवनमा कस्तो शून्यता ल्याउँछ भन्ने बुझ्न सक्थेँ। तर अहिले उमेरसँगै बुवाको अभाव असह्य हुन्छ। हरेक वर्ष यो दिन आउँदा आँखा रस्छन्, मन अमिलो हुन्छ।
२०५९ साल साउन २८ गते मेरो बुबाको निधन भएको आज २२ वर्ष भइसकेछ। मलाई उहाँको स्वर स्पष्टसँग याद छैन, अनुहार मात्र मधुरो–मधुरो सम्झनामा बाँकी छ। तर, विश्वास छ—उहाँले हरेक पल मेरो स्वास्थ्य, प्रगति र सफलताको लागि कामना गर्नुभएको थियो।
बुवाको अन्तिम अवस्थाको स्मृति अझै पनि मनमा सल्बलाइरहन्छ। अस्पतालले कुनै विकल्प नभएको जानकारी दिएपछि घर फर्काइयो। रोगको उपचार खर्च अत्यन्तै महँगो थियो, त्यसैले आफ्ना छोराछोरीको भविष्यलाई बोझ नबनोस् भन्ने सोचाइले उहाँले उपचारमा भन्दा घर फर्किन अडान लिनुभयो। त्यो हिम्मत, त्यो त्याग—सायद आजको हाम्रो जीवन त्यसकै कारण सम्भव भएको होला।
एउटा साधारण परिवारको एक्लो छोरा, पेशाले शिक्षक, समाजसेवी, राजनीतिक चेतना बोकेको व्यक्तित्व, घुमघामको सौखिन—त्यो हसिलो अनुहार अब कहिल्यै देख्न नपाउने गरी पंचतत्वमा विलीन भयो। बुवालाई गुमाएको दिनदेखि महिनादेखि वर्षसम्म निरन्तर समय बितिरहेको छ, तर उहाँप्रतिको माया र सम्झना झन् झन् बढिरहेको छ।
आज पनि राम्रो खान पाइयो भने, नयाँ कपडा लगाइयो भने, कुनै चाडपर्व वा शुभकर्म आयो भने, सबैभन्दा धेरै बुवाको याद आउँछ। ढाका टोपी, दौरा सुरुवाल वा सुटको झल्को देख्दा लाग्छ—“यो त बुवालाई कति सुहाउँथ्यो होला१ काश, आफ्नै कमाइले उहाँलाई किनिदिन पाएको भए कस्तो हुन्थ्यो१” तर अहिले सम्झनु बाहेक केही गर्न सक्दिनँ।
यसैले भन्न चाहन्छु,जसका बुवा अझै जीवित हुनुहुन्छ, कृपया उहाँलाई जति सकिन्छ कदर गर्नुस्, सम्मान गर्नुस्, उहाँका इच्छाहरू बुझेर रहर पुरा गर्नुस्। हामी जस्ता भाग्यहीनहरू सम्झेर मात्रै रोइरहन्छौँ, केही गर्न सक्दैनौँ।
अन्त्यमा, मेरी आमाप्रति अपार सम्मान छ—उहाँले बुवा र आमा दुवैको जिम्मेवारी पूरा गर्दै हामीलाई सक्षम बनाउनु भयो।
हार्दिक श्रद्धाञ्जलि बुवा—जहाँ हुनुहुन्छ, खुशी रहनुहोस्। धेरै धेरै सम्झना र माया।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE