जसपा नेपालको केन्द्रीय निर्वाचन आयोगका सदस्य धर्मेन्द्र मरबैताको राजीनामा — “विधान विपरीत फर्जी मतदाता सदरी अपराधको साक्षी बन्न सक्दिन”
✍️दिनेश सहनी
जनकपुरधाम, १ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको आन्तरिक राजनीतिक गतिविधिमा पुनः विवाद उत्पन्न भएको छ। मधेश प्रदेश अधिवेशनको क्रममा पार्टीको विधान विपरीत फर्जी मतदाता सदर गरिएको आरोप लगाउँदै केन्द्रीय निर्वाचन आयोगका सदस्य धर्मेन्द्र मरबैताले आफ्नो पदबाट राजीनामा दिएका छन्।


मरबैताले शुक्रवार विभिन्न सामाजिक संजाल विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्व, विशेषगरी निर्वाचन आयोगका अध्यक्ष र अध्यक्ष मण्डलमाथि “विधान विपरीत कुकर्म” गरेको आरोप लगाएका छन्। उनले भनेका छन् —
“म अधिवेशनको बन्दसत्रकै क्रममा असहमति जनाउँदै मौखिक रूपमा राजीनामा देइसकेको थिएँ। आज एक व्यक्तिलाई फर्जी मतदाताको बलमा शीर्ष पदाधिकारी स्वयं सहभागी भई विधान विपरीत अपराध गरेकाले म केन्द्रीय निर्वाचन आयोगको सदस्य पदबाट राजीनामा गर्दछु।”
उनले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै विधान अनुसार पुनः मधेश प्रदेश अधिवेशन गर्न आग्रह समेत गरेका छन्। मरबैताको भनाइमा, “विधान विपरीत अपराधको साक्षी बन्नु न्याय र नैतिकताविरुद्ध हुने भएकाले आफू यस्तो गतिविधिमा सहभागी नहुने निर्णय गरेका” हुन्।
राजीनामासँगै उनले पार्टीभित्र पारदर्शिता, आन्तरिक लोकतन्त्र र संगठनात्मक शुद्धताको आवश्यकता औंल्याउँदै भनेका छन् —
“पार्टी नेतृत्वले आफ्नै विधान र नियमको उल्लंघन गर्दा संगठनको विश्वसनीयतामा प्रश्न उठ्छ। जसपा नेपालको विश्वसनीयता जोगाउन न्यायोचित कदम आवश्यक छ।”
पार्टी नेतृत्वले यसबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। तर, मरबैताको राजीनामाले जसपा नेपालको मधेश प्रदेश अधिवेशन र संगठनात्मक एकतामाथि थप प्रश्न खडा भएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE